बाढीको प्रभाव सेयर बजारमा: नेप्सेमा निरन्तर पाँचौँ दिन गिरावट
काठमाडौँ, ११ भदौ। रसुवा क्षेत्रको बाढीले जलविद्युत् आयोजनाहरूमा पुर्याएको क्षतिको प्रत्यक्ष असर सेयर बजारमा पनि देखिएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १.०४ अङ्कले घटेर २,५५७.३१ विन्दुमा बन्द भएको छ। यससँगै नेप्सेमा निरन्तर पाँचौँ कारोबार दिन गिरावट दर्ता भएको छ।
अघिल्लो कारोबार दिन बुधबार रु ४ अर्ब ७७ करोडको कारोबार भएको बजारमा आज ३४८ कम्पनीको ५२ हजार ५७५ पटकको कारोबारमा रु ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार बराबरको १ करोड ६ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य निरन्तर ११औँ कारोबार दिन सकारात्मक सर्किट लागेर प्रतिकित्ता रु १,३९४.८० मा बन्द भएको छ। यस्तै, घोराही सिमेन्टको मूल्य ८ प्रतिशतभन्दा बढीले बढ्दा अप्पर हेवाखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ९.४५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स रु २१ करोड ७५ लाखसहित शीर्ष स्थानमा रहँदा नेपाल एसबिआई बैंक र चिलिमे हाइड्रोपावरको सेयर कारोबार अग्रस्थानमा रह्यो।
कारोबार भएका १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले बढ्दा म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ३.१२ प्रतिशतले घटेको छ। यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।