भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण पर्यटकीय क्षेत्रमा सम्पर्कविहीन हुने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले विभिन्न ट्राभल एजेन्सी र ट्रेकिङ कम्पनीहरूबाट सङ्कलन गरी सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सो सङ्ख्या पुष्टि भएको हो।

बोर्डको तथ्याङ्कअनुसार सम्पर्कविहीन हुनेहरूमध्ये सबैभन्दा धेरै भारतीय पर्यटकहरू रहेका छन्, जसको सङ्ख्या १७८ पुगेको छ। यसैगरी, आन्तरिक नेपाली पर्यटक १२७ जना सम्पर्कविहीन रहेका छन्। अमेरिकी पर्यटक ६५ र युक्रेनका ५३ जना पर्यटक सम्पर्कविहीन रहेको तथ्याङ्क छ।

यसैगरी, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, संयुक्त अधिराज्य (बेलायत) का ३३ र क्यानडाका २५ जना पर्यटक बेपत्ता रहेका छन्। अन्य देशहरूमध्ये सिङ्गापुरका नौ, रुसका आठ, जर्मनीका आठ तथा लात्भिया र दक्षिण अफ्रिकाका छ/छ जना पर्यटक बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

बाढी प्रभावित रसुवाका पर्यटकीय क्षेत्रहरूमा सञ्चार र यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले पर्यटकहरूसँग सम्पर्क हुन नसकेको बोर्डको विश्लेषण छ। बेपत्ता पर्यटकहरूको यकिन अवस्था पत्ता लगाउन र प्रभावित क्षेत्रमा अड्किएकाहरूको सुरक्षित उद्धारका लागि पर्यटन बोर्डले गृह मन्त्रालय र सुरक्षा निकायहरूसँगको समन्वयमा खोज तथा उद्धार कार्य तीव्र पारेको छ।