एकदिवसीय अभ्यास खेल: मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौँ, ११ भदौ । मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा कसिलो बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो।

यसअघि खेलिएको पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले दिएको १७१ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाको इनिङ्स ४०.१ ओभरमा १४१ रनमा समेटियो। मलेसियाका लागि अकिल वाहिदले १०८ बलमा छ चौकासहित सर्वाधिक ५६ रनको अर्धशतकीय योगदान दिए।

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले तीन, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा हेमन्त धामीले एक विकेट लिए।

त्यसअघि मलेसियाको सेलानगोर क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १७० रन बनाएको थियो। नेपालका लागि रोहितकुमार पौडेलले ८६ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, गुलशनकुमार झाले ६० बलमा चार चौका र तीन छक्कासहित ४५ रन बनाए भने सन्दीप लामिछानेले १३ तथा आसिफ शेख र अर्जुन कुमालले समान १०–१० रन जोडे। बलिङतर्फ मलेसियाका लागि अकील वाहिदले चार विकेट लिएका थिए।

नेपाल र मलेसियाले एसिसी प्रिमियर कपको तयारीस्वरूप अभ्यास खेलमा प्रतिस्पर्धा गरेका हुन्। आसन्न प्रिमियर कप यही भदौ १४ गतेदेखि मलेसियामा आयोजना हुँदैछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङको सामना गर्नेछ। नेपालले आफ्नो पहिलो खेल भदौ १५ गते खेल्ने तालिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *