एमालेको दुईदिने राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीद्वारा उद्घाटन

काठमाडौँ, २० जेठ । नेकपा (एमाले) को साङ्गठनिक सुदृढीकरणका लागि ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि काठमाडौँमा सुरु भएको छ। एमाले केन्द्रीय सङ्गठन विभागद्वारा बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यशालाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि अध्यक्ष ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिनुभएको हो। उहाँले गमलामा रोपिएको बिरुवामा पानी हालेर कार्यशालाको औपचारिक समुद्घाटन गर्नुभयो।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टीको साङ्गठनिक सुदृढीकरण र यसलाई थप चलायमान बनाउने उद्देश्यका साथ यो विशेष कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा देशभरका एमाले प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटीका पदाधिकारी एवं कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र सङ्गठन विभाग प्रमुखहरूको सहभागिता रहेको छ। यसका साथै जनवर्गीय सङ्गठनका केन्द्रीय अध्यक्ष र सङ्गठन विभाग प्रमुखहरू पनि कार्यशालामा उपस्थित छन्।

दुई दिनसम्म चल्ने यस कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र साङ्गठनिक सुदृढीकरणका भावी नीति एवं रणनीतिक योजनाहरूबारे विस्तृत अभिमुखीकरण र सामूहिक छलफल गरिने एमालेले जनाएको छ।