निजी अस्पतालहरूलाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ, २० जेठ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरू (अस्पताल) लाई आकस्मिक सेवा (इमर्जेन्सी) आवश्यक पर्ने बिरामीहरूको मात्र बिमा सुविधा अन्तर्गत उपचार गराउन निर्देशन दिएको छ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहका अनुसार कुनै पनि बिरामीलाई तत्काल आकस्मिक उपचारको आवश्यकता देखिएमा मात्र बिमा अन्तर्गतको स्वास्थ्य सेवा उपलब्ध गराउन निजी अस्पतालहरूलाई परिपत्र गरिएको हो।

वित्तीय स्रोतको चरम अभावलाई मध्यनजर गर्दै बोर्डले गएको जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी अस्पतालहरूबाट प्रवाह हुने आकस्मिक बाहेकका अन्य सबै स्वास्थ्य सेवाहरू स्थगित गरिसकेको छ।

यसै सन्दर्भमा सामान्य प्रकृतिका बिरामीलाई समेत आकस्मिक कक्षमा भर्ना गराई बिमा कोषमाथि थप भार पर्ने गरी उपचार सेवा प्रदान नगर्न बोर्डले स्वास्थ्य संस्थाहरूलाई सचेत गराएको छ। यसका साथै सेवाग्राहीहरूलाई समेत चिकित्सक वा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना गरी सामान्य अवस्थामा पनि आकस्मिक सेवा लिन बाध्य नपार्न बोर्डले आग्रह गरेको छ।

हाल देशभरका ३६ वटा निजी अस्पतालहरू स्वास्थ्य बिमा बोर्डमा आबद्ध भई बिमित नागरिकहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्।