कङ्गोलगाएत देशमा द्वन्द्वको चपेटामा निर्दोष बालबालिका: हिंसाका घटना २५ प्रतिशतले बढे
काठमाडौँ, २१ जेठ । ‘निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तरराष्ट्रिय दिवस’का अवसरमा संयुक्त राष्ट्रसङ्घले विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न विशेष आह्वान गरेको छ । सन् १९८२ देखि हरेक वर्ष जुन ४ का दिन मनाइने यो दिवसले सशस्त्र द्वन्द्वका कारण बालबालिकाले भोग्नुपरेको पीडा र उनीहरूको अधिकार रक्षाप्रति विश्वको ध्यानाकर्षण गराउँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार हाल विश्वका विभिन्न भागमा जारी युद्धका कारण बालबालिका सबैभन्दा बढी जोखिममा छन् । उनीहरू घर, विद्यालय र अस्पताल जस्ता सुरक्षित मानिने स्थानमै आक्रमणको सिकार भइरहेका छन् ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसद्वारा सार्वजनिक ‘बालबालिका र सशस्त्र द्वन्द्व’ सम्बन्धी वार्षिक प्रतिवेदनले सन् २०२४ मा बालबालिकाविरुद्ध भएका गम्भीर अपराध अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढेको देखाएको छ । प्रतिवेदनअनुसार विश्वभर २२ हजार ४९५ बालबालिका प्रभावित हुने गरी ४१ हजार ३७० वटा गम्भीर अधिकार उल्लङ्घनका घटना प्रमाणीकरण भएका छन् ।
सबैभन्दा बढी हिंसाग्रस्त क्षेत्रहरूमा इजरायल र प्यालेस्टाइन (८,५५४ घटना), कङ्गो (४,०४३), सोमालिया (२,५६८), नाइजेरिया (२,४३६) र हैटी (२,२६९) रहेका छन् ।
प्रतिवेदनअनुसार बालबालिकाको ज्यान लिने र शारीरिक क्षति पुर्याउने कार्य मुख्य चुनौती बनेको छ । सन् २०२४ मा ११ हजार ९६७ बालबालिका विस्फोटक पदार्थ, बारुदी सुरुङ र अन्धाधुन्ध आक्रमणका कारण मारिएका वा अङ्गभङ्ग भएका छन् । यसबाहेक, सशस्त्र समूहहरूले बालबालिकालाई जबर्जस्ती सैन्य भर्ती गर्ने, अपहरण गर्ने र यौन हिंसाको सिकार बनाउने क्रम समेत बढेको छ ।
यस्तै, गत वर्ष विद्यालय र अस्पतालमाथि करिब दुई हजार पटक आक्रमण भएको पुष्टि भएको छ । द्वन्द्वरत पक्षहरूले मानवीय सहायता र राहत सामग्री पुर्याउन अवरोध गर्दा बालबालिका स्वास्थ्य र पोषण जस्ता आधारभूत आवश्यकताबाट वञ्चित भएका छन् ।
बालअधिकार अभियन्ता डा. ग्रासा माशेलले बालबालिकाको सुरक्षालाई लिएर अन्तरराष्ट्रिय समुदायले थप प्रतिबद्धता देखाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ, “बालबालिका सबैभन्दा पहिले बालबालिका नै हुन् । उनीहरूको संरक्षण गर्नु र उनीहरूका सबै अधिकार सुनिश्चित हुने शान्तिपूर्ण संसार निर्माण गर्नु हामी सबै वयस्कहरूको साझा दायित्व हो ।”
राष्ट्रसङ्घले द्वन्द्वका मूल कारण समाधान गरी दोषीमाथि कडा कारबाही गर्न र पीडित बालबालिकाको पुनःस्थापनाका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न विश्वका सरकारहरूलाई आग्रह गरेको छ ।