रोल्पामा जीप दुर्घटना, दाङका दम्पतीसहित तीन जनाको मृत्यु
दाङ, २१ जेठ । रोल्पाको माडी गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा परी दाङका तीन जनाको मृत्यु भएको छ। माडी गाउँपालिका–२ घर्तीगाउँस्थित व्याङखोलामा निर्माण सामग्री बोकेको जीप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार एमएच १४ टिसिजे ४७१ नम्बरको अस्थायी नम्बर प्लेटको जीप सडकबाट करिब ६०० मिटर तल खसेको थियो।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा दाङका बासिन्दा रहेका छन् जसमा वीरबहादुर चौधरी (२५ वर्ष) जीप चालक, घोराही उपमहानगरपालिका–७ बेसाहीका रहेका छन् भने जिउधन चौधरी (४० वर्ष) घोराही उपमहानगरपालिका–१४ (स्थायी घर: दङ्गीशरण–७) र कमला चौधरी (३८ वर्ष): जिउधनकी श्रीमती, घोराही उपमहानगरपालिका–१४ का रहेका छन् ।
प्रहरीका अनुसार निर्माण सामग्री बोकेर गन्तव्यतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई भिरबाट तल खसेको थियो। दुर्घटना निकै भयानक भएकाले जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली उद्धारका लागि पुगेको थियो। दुर्घटनाको ठोस कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।