बिपी राजमार्ग अबदेखि रात्रिकालीन बन्दको समय फेरबदल, अब साँझ ६ देखि बिहान ४ बजेसम्म आवागमन रोकिने

काभ्रेपलाञ्चोक, २२ जेठ । बेमौसमी वर्षा र पहिरोका कारण जोखिम बढेपछि बिपी राजमार्गको काभ्रे–सिन्धुली खण्डमा लागू गरिएको रात्रिकालीन बन्दलाई निरन्तरता दिँदै समयतालिकामा केही फेरबदल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले साविकको १२ घण्टे बन्दलाई २ घण्टा घटाएर नयाँ समय निर्धारण गरेको हो ।
नयाँ निर्णयअनुसार अब काभ्रेको नमोबुद्ध–१० चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडकखण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइनेछ । यसअघि साँझ ५:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द गरिँदै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार हाल दिन लामो हुने समय सुरु भएको र यात्रु तथा व्यवसायीको मागलाई मध्यनजर गर्दै बन्दको समय दुई घण्टा छोट्याइएको हो । यद्यपि, मनसुन र वर्षाका कारण रोशी खोलामा आउने बाढीले डाइभर्सन बगाउने खतरा अझै कायमै रहेकाले रात्रिकालीन बन्दलाई भने ‘अनिश्चितकालीन’ नै राखिएको छ ।

गत वैशाख २१ गते राति वर्षाका कारण रोशी गाउँपालिकाको लास्कोटमा ५ वटा माइक्रो बस फसेपछि ८९ जना यात्रुको उद्धार गर्नुपरेको थियो । सो घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले रातको समयमा यात्रामा रोक लगाउन थालेको हो । गत वर्षको भीषण बाढीले यस राजमार्गको करिब १८ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो, जहाँ अहिले खोलाकै सतहमा अस्थायी डाइभर्सन बनाएर गाडी गुडाइँदै छ ।

प्रहरीले सुरक्षा चेतावनीलाई बेवास्ता गरी यात्रुको ज्यान जोखिममा पार्ने सवारी चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही समेत गरिरहेको छ । प्रशासनले वर्षा भइरहेको समयमा राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । सडकको दूरावस्थाका कारण सामान्य वर्षामा पनि यो खण्ड अत्यन्तै जोखिमपूर्ण बन्ने गरेको छ ।