बैंकिङ कसुरमा ‘ग्रेटर नेपाल’का अभियन्ता फणिन्द्र नेपाल पक्राउ
काठमाडौं, २५ जेठ । ‘ग्रेटर नेपाल’ राष्ट्रवादी मोर्चाका अध्यक्ष एवं अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार बुढानीलकण्ठ नगरपालिका–१० बाट नियन्त्रणमा लिएको हो।
चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। २०७६ सालमा भएको आर्थिक लेनदेनको विषयलाई लिएर युवराज खत्रीले नेपालविरुद्ध जाहेरी दिएका थिए। सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७९ जेठ २५ गते नेपाललाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो।
पीडित खत्रीका अनुसार नेपालले ऋण तिर्नका लागि दिएको चेक बैंकमा पर्याप्त मौज्दात नभई नसाटिएपछि उनी कानुनी प्रक्रियामा गएका थिए।
यता, पक्राउ परेका फणिन्द्र नेपालले भने आफूमाथि अन्याय भएको दाबी गरेका छन्। उनले आफूले लिएको ऋण पहिल्यै चुक्ता गरिसकेको भन्दै खत्रीले ‘मिटर ब्याज’ मा फसाउने नियतले झूटो मुद्दा लगाएर दु:ख दिएको आरोप लगाएका छन्।
अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।