जाजरकोटको रिसाङमा पहिरो, एक जनाको मृत्यु, तीन जना बेपत्ता ९ घाइते, २०० स्थानीय विस्थापित

जाजरकोट, ३१ साउन । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा खसेको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता भएका छन् । पहिरोले बस्ती पुरेका कारण ठुलो मानवीय र भौतिक क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार पहिरोमा पुरिएर ५२ वर्षीय केदार कार्कीको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परी सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्री बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजीका लागि सुरक्षाकर्मी र स्थानीय बासिन्दा निरन्तर खटिएका छन् ।

पहिरोमा परेर ९ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था हेरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरू मध्य नेपालगञ्ज नर्सिङ अस्पताल: १ जना, कोहलपुर मेडिकल कलेज: २ जना, डौरीकाँडा मेडिकल सेन्टर (स्थानीय): ३ जना
बाँकी ३ जना भने सामान्य उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।

बस्तीमाथिबाट थप पहिरो खस्ने जोखिम बढेपछि प्रशासनले सो क्षेत्रका करिब २०० जना बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । विस्थापितहरूलाई स्थानीय त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेर गाँसबासको व्यवस्था मिलाइएको छ ।

घटनाको जानकारी पाउनासाथ उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । लेदोसहितको पहिरो र निरन्तरको वर्षाका कारण बेपत्ताको खोजी र उद्धार कार्यमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।