झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु : आक्रोशित स्थानीयद्वारा तोडफोड
काठमाडौँ, साउन ३१ । झापामा टिपरको ठक्करबाट एक वृद्ध साइकलयात्रीको मृत्यु भएको छ । झापा गाउँपालिका ३ निवासी ६५ वर्षीय इशनलाल गणेशको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका गणेशलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा हिजो उनको निधन भएको हो ।
दुर्घटनापश्चात् फरार रहेका टिपर चालक झापा गाउँपालिका ३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच, दुर्घटनामा परी गणेशको मृत्यु भएको खबर फैलिएपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले सम्बन्धित टिपरमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन र घटनाबारे थप अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको छ ।