रोल्पामा फेरि पहिरो : लुङग्रीमा घर पुरिँदा ७२ वर्षीया वृद्धाको मृत्यु
रोल्पा, ३१ साउन । रोल्पाको लुङग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एक जना वृद्धाको मृत्यु भएको छ । लुङग्री गाउँपालिका–५ धैरेनीमा आइतबार बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार विगत केही दिनदेखि भइरहेको निरन्तरको वर्षाका कारण बस्तीमाथिबाट पहिरो खसेको थियो । पहिरोले गुरुङको घर पुरेको र उनलाई जीवितै उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ ।
रोल्पामा मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ । यसअघि थवाङमा भएको ठूलो मानवीय क्षतिपछि फेरि लुङग्रीमा यो दुःखद घटना भएको हो । प्रहरीले वर्षा जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।