रित्तिँदै गाउँ, सुनसान विद्यालय : तीन विद्यार्थीका लागि तीनै जनाको ‘कुरुवा’

काठमाडौँ, जेठ २७ । सुविधायुक्त भवन छ, सफा शौचालय छ र कक्षाकोठा पनि बालमैत्री नै छन् । तर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका  ४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालय पुग्दा लाग्छ, यो विद्यालय कुनै उत्सवको पर्खाइमा छ । विडम्बना, यहाँ न त विद्यार्थीको कोलाहल सुनिन्छ, न त खेलमैदानमा बालबालिकाको दौडादौड देखिन्छ  ।

यो यस्तो विद्यालय हो, जहाँ जति विद्यार्थी छन्, त्यति नै सङ्ख्यामा शिक्षक र कर्मचारी कार्यरत छन्। कक्षा ३ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल मात्र तीन जना विद्यार्थी अध्ययनरत छन् भने उनीहरूलाई पढाउन र रेखदेख गर्न पनि तीनै जनाको टोली खटिएको छ ।

विद्यार्थी र शिक्षकको अङ्क गणित
विसं २०४० मा स्थापना भएको यो विद्यालय कुनै समय विद्यार्थीले भरिभराउ हुन्थ्यो। तर, अहिले समय बदलिएको छ। विद्यालयको तथ्याङ्क अनुसार कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या शून्य छ । बालकक्षामा एक जना (जेसिका खड्का) र कक्षा ३ मा दुई जना (नेलसन रोका र श्रीसा खड्का) मात्र छन् ।

यी तीन कलिला बालबालिकाको भविष्य उज्ज्वल बनाउन प्रधानाध्यापक शान्ति राम्जाली, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र कार्यालय सहयोगी सुर्जना रोकाले आफ्नो जिम्मेवारी सम्हालिरहनुभएको छ। “हामीसँग पूर्वाधार छ, तर बालबालिका छैनन्,” प्रधानाध्यापक राम्जाली भावुक हुँदै भन्नुहुन्छ।

बसाइँसराइको पीडादायी असर
कुनै समय भालेबास र कोप्चेपानीका घरघरमा देखिने बालबालिका अहिले हराएका छन् । यसको मुख्य कारण पहाडबाट तराई वा सहरतर्फको तीव्र बसाइँसराइ र घट्दो जन्मदर हो। भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवार मात्र बाँकी छन् ।

“२०७२ सालसम्म पनि यहाँ १५-२० जना विद्यार्थी हुन्थे,” प्रधानाध्यापक राम्जाली सम्झनुहुन्छ, “तर अहिले नयाँ बच्चा जन्मने दर नै घट्यो, भएकाहरू पनि राम्रो अवसरको खोजीमा गाउँ छाडेर गए ।” २०७५ सालमा कालीगण्डकीको बाढीले विद्यालय भवन बगाएपछि यसलाई नयाँ ठाउँमा स्थानान्तरण गरिएको थियो। नयाँ भवन त बन्यो, तर त्यसलाई भर्ने बालबालिका भने भएनन् ।

बाध्यताको पाठशाला
विद्यार्थी सङ्ख्या न्यून भए पनि विद्यालय किन बन्द नगरेको त? यसको जवाफ भौगोलिक विकटतामा लुकेको छ । स्थानीय बासिन्दा तुलाराम बुढाका अनुसार छिमेकी गाउँ गाडपार वा काभ्रेको विद्यालय पुग्न साना बालबालिकालाई कम्तीमा एक घण्टा पैदल हिँड्नुपर्छ । “साना नानीहरूलाई त्यति टाढा पठाउन सकिँदैन, त्यसैले थोरै भए पनि गाउँकै विद्यालय जोगाउनु परेको छ,” उहाँ भन्नुहुन्छ ।

नीतिगत अन्योल र भविष्य
धवलागिरि आधारभूत विद्यालयको यो समस्या म्याग्दीका अन्य गाउँहरूको पनि साझा समस्या हो । अन्नपूर्ण गाउँपालिकाकै ठाडा, किन्दु, स्वाँत, घराप र चित्रेका विद्यालयमा पनि विद्यार्थी सङ्ख्या क्रमशः घट्दो छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार यस्तो अवस्था आएका विद्यालयहरूमा कक्षा घटुवा गर्ने वा दरबन्दी मिलान गर्ने नीति लिइएको छ। तर, एउटा प्रश्न अझै अनुत्तरित छ, के भवन र शिक्षक मात्र भएर विद्यालय चल्छ? गाउँ नै रित्तिँदै गएपछि यी हिमालको फेदमा रहेका विद्यालयहरूले कसको भविष्य कोर्ने हुन्, त्यो भने चिन्ताको विषय बनेको छ ।