नवलपुरमा क्रेन दुर्घटना : ६ जना घाइते, ब्रेक फेल हुनु मुख्य कारण

काठमाडौँ, जेठ २८ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका ४, रानीतालस्थित कालीगण्डकी करिडोर सडकखण्डमा गए राति सो दुर्घटना भएको हो ।

ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ‘ब्रेक फेल’ भएर सडकको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी पाल्पा घर भई हाल मध्यविन्दु ११ बस्ने २५ वर्षीय चालक निरज अस्रामी मगरसहित ६ जना घाइते भएका छन् । अन्य घाइते हुनेहरूमा मध्यविन्दु–११ कै ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई रहेका छन् ।

घाइते सबैको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । क्रेन घटनास्थलमै रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।