विना अनुमति सञ्चालित बालुवाटारको ‘मारिया अस्पताल’ सिलबन्दी, तीन चिनियाँ चिकित्सक निलम्बित
काठमाडौँ, २८ जेठ । काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) गैरकानुनी रूपमा सञ्चालन भएको पाइएपछि सिलबन्दी गरी बन्द गरिएको छ। नेपाल मेडिकल काउन्सिलले गरेको आकस्मिक अनुगमनका क्रममा आवश्यक अनुमति विना नै अस्पताल सञ्चालन भइरहेको पाइएपछि उक्त कदम चालिएको हो।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार अनुमति विना स्वास्थ्य सेवा प्रवाह गरिरहेकाले उक्त अस्पतालका सञ्चालकहरूमाथि कानुनी कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँमा पत्राचार गरिएको छ।
अनुगमनका क्रममा आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न रहेको पाइएपछि काउन्सिलले त्यहाँ कार्यरत तीन जना चिनियाँ नागरिकको अस्थायी चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) तत्कालका लागि निलम्बन गरेको छ।
यसैगरी, उक्त गैरकानुनी संस्थाको बोर्डमा आफ्नो नाम राखी आचारसंहिता उल्लङ्घन गरेको आरोपमा काउन्सिलले सम्बद्ध नेपाली चिकित्सकहरूलाई समेत तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको डा. पाण्डेले जानकारी दिनुभयो।