मन्त्रिपरिषद्ले स्वीकृत गरेको विधेयक हेरफेर गर्ने अर्थमन्त्री नैतिक रूपमा पदमा बस्न मिल्दैन: वर्षमान पुन
काठमाडौँ, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको बजेट आश्रित विधेयकका केही पानाहरू अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एकलौटी रूपमा हेरफेर गरेको भन्दै नैतिक रूपमा उहाँ पदमा बसिरहन नमिल्ने बताउनुभएको छ। संसद् भवन नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले यस विषयमा संसदीय छानबिन हुनुपर्ने माग दोहोर्याउनुभयो।
नेता पुनले मन्त्रिपरिषद्बाट पारित भइसकेको विधेयक जस्ताको तस्तै संसद्मा पेस हुनुपर्ने संवैधानिक र कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभयो।
“मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारी दस्तावेजमा अर्थमन्त्रीले एकल रूपमा हेरफेर गर्नुभएको छ, जसले विधि र नैतिकताको गम्भीर प्रश्न उठाएको छ। यस अर्थमा उहाँ नैतिक रूपमा पदमा बस्न मिल्दैन। प्रधानमन्त्रीले उहाँलाई मन्त्री पदबाट हटाउनुपर्छ वा उहाँ आफैँले राजीनामा दिनुपर्छ,” नेता पुनले भन्नुभयो।
बजेट निर्माण प्रक्रियाको पारदर्शिता र विश्वसनीयता जोगाउन संसदीय छानबिन समिति अपरिहार्य रहेको उहाँको तर्क छ। अर्थमन्त्री वाग्लेले विगतका बजेटहरूमाथि पनि छानबिन गर्ने भनी दिएको चुनौतीका विषयमा टिप्पणी गर्दै नेता पुनले आफू अर्थमन्त्री हुँदा ल्याएका बजेटमाथि पनि अनुसन्धान गर्न आफू पूर्ण रूपमा तयार रहेको बताउनुभयो।