अर्थमन्त्रीले संसद्‌लाई धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले गरे उठेर विरोध, अर्थमन्त्री माथि संसदीय छानबिनको माग

काठमाडौँ, २९ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै उठेर विरोध जनाएका छन्। केही समय सुचारु भएको संसद् बैठक अर्थमन्त्रीको उक्त अभिव्यक्तिका कारण पुनः प्रभावित भएको हो।

बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षामान पुनलाई बोल्ने समय दिनुभएको थियो। सांसद पुनले अर्थमन्त्रीले संसद् र संसदीय समितिको अवमूल्यन गर्दै जनप्रतिनिधिहरूलाई धम्क्याउने दुष्प्रयास गरेको आरोप लगाउनुभयो।

“अर्थमन्त्रीले संसद् र समितिको अवमूल्यन गर्दै धम्काउने कोसिस गर्नुभएको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ,” सांसद पुनले भन्नुभयो, “करका दरहरू हेरफेर गरेको विषयलाई उहाँले खुला रूपमा स्वीकार गर्नुभएको छ, जुन आर्थिक अपराध हो। उल्टै संसद्‌मा धम्की दिने कार्यले सदनको मानहानि भएको छ। यस विषयमा सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्छ र संसदीय छानबिन समिति गठन गरिनुपर्छ।”

बिहीबार आर्थिक विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूतर्फ लक्षित गर्दै “तपाईँहरूका काण्डबारे पनि हामी अनभिज्ञ छैनौँ, ती पनि क्रमशः खुल्नेछन्” भनी अभिव्यक्ति दिनुभएको थियो। प्रतिपक्षी दलहरूले सो अभिव्यक्ति गैरजिम्मेवार रहेको र त्यसले संसद्को गरिमा घटाएको भन्दै माफी र छानबिनको अडान राखेका छन्।