सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको भन्दै संसद्‌मा हर्कराज राई आक्रोशित, प्रधानमन्त्री र सेनाको भूमिकामाथि प्रश्न

काठमाडौँ, २९ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली सेनाको भूमिकाबारे संसद्‌मा गम्भीर प्रश्न उठाउनुभएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद राईले नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) हतियारसहित प्रवेश गरेको घटनालाई लिएर सरकारको मौनताको आलोचना गर्नुभयो।

सांसद राईले ‘नेपालले भारतको भूमि मिचेको छ’ भनी प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री शाह संसद्‌मा जवाफ दिन उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। “यदि प्रधानमन्त्री संसद्‌मा आउन सक्नुहुन्न भने नेपाल सरकारको रक्षामन्त्री को हुनुहुन्छ? सभामुख डीपी अर्यालले उहाँलाई यहाँ बोलाउनुपर्छ,” राईले भन्नुभयो। उहाँले सुस्तामा भारतीय एसएसबीले नेपाली नागरिकलाई हप्काइदप्काइ गरिरहँदा पनि निहत्था नेपाली दाजुभाइहरू आफ्नो भूमि जोगाउन भर्खरैसम्म लडिरहेको दाबी गर्नुभयो।

यसैगरी, सांसद राईले सीमा सुरक्षामा नेपाली सेना परिचालन हुन नसकेको विषयप्रति आपत्ति जनाउँदै प्रश्न उठाउनुभयो। “नेपाली सेनाले सिमाना रक्षाका लागि जानै नहुने के कसम खाएर बसेको छ? नेपाल सरकारले सेनालाई सिमानामा पठाउनै नहुने कुन चाहिँ सन्धि वा करार गराएको छ?” उहाँको प्रश्न थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *