च्याउ खोज्न जाँदा खोलाले बगाउँदा गोदावरीमा दुई महिलाको मृत्यु

कैलाली, २९ जेठ । कैलालीको गोदावरी खोलामा आएको बाढीमा बगेर दुई महिलाको मृत्यु भएको छ। जङ्गलमा च्याउ खोज्न गएका बेला खोला तर्ने क्रममा बगेर गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार आज बिहान च्याउ खोज्न स्थानीय जङ्गलतर्फ गएका उनीहरू खोला पार गर्ने क्रममा बाढीमा बगेका थिए।

उनीहरू सम्पर्कविहीन भएपछि सुरक्षाकर्मी र स्थानीयवासीले खोजी गर्ने क्रममा दुवै जनाको मृत शरीर गोदावरीस्थित वनदेवी मन्दिर पछाडि फेला पारेका हुन्। मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।