अनुसन्धानदाताहरूको राष्ट्रिय सम्मेलन : ‘प्राज्ञिक अनुसन्धानले सुशासन र पारदर्शिता प्रवर्द्धन गर्छ’

काठमाडौँ, ३१ जेठ । वैज्ञानिक विधि र तथ्यमा आधारित प्राज्ञिक अनुसन्धानले मुलुकको शैक्षिक उन्नयनका साथै राज्यको नीतिनिर्माण, सुशासन र पारदर्शिता स्थापनामा टेवा पुर्‍याउने अनुसन्धानकर्ताहरूले बताएका छन्। नेपाल फिलोसफिकल रिसर्च सेन्टर (एनपिआरसी) र अनुसन्धानदाता समाजको संयुक्त आयोजनामा भक्तपुरमा सम्पन्न अनुसन्धानदाताहरूको दुईदिने दोस्रो राष्ट्रिय सम्मेलनका अवसरमा विज्ञहरूले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

सम्मेलनको समापनका अवसरमा बोल्दै एनपिआरसीका उपाध्यक्ष एवं वरिष्ठ अनुसन्धानदाता डा. दशरथ न्यौपानेले राज्यको नीतिनिर्माण, सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता र विकास योजनालाई व्यवस्थित बनाउन अनुसन्धानको निष्कर्ष महत्वपूर्ण हुने बताउनुभयो। “वैज्ञानिक र वस्तुनिष्ठ अनुसन्धानले सुशासन र पारदर्शिता स्थापनामा ठूलो सघाउ पुर्‍याउँछ,” उहाँले भन्नुभयो, “नेपालमा शोधहरू पुस्तकालयमा थन्किने तर कार्यान्वयन नहुने प्रवृत्ति छ, यसलाई सच्याएर शोधहरूको व्यावहारिक उपयोग गरिनुपर्छ।”

एनपिआरसीका अध्यक्ष डा. तेजबहादुर कार्कीले वर्षौँको श्रम र वैज्ञानिक विधि अपनाएर तयार पारिएका शोधहरूलाई राज्यले राष्ट्रिय सम्पत्तिका रूपमा ग्रहण गरी नीति निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

सम्मेलनमा अनुसन्धानदाता डा. जनार्दन घिमिरेले नेपालमा ‘आइएसओ ९००१ सर्टिफिकेट’ सम्बन्धी आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्दै उपभोक्ता अधिकार र सुशासनका लागि अन्तर्राष्ट्रिय मापदण्ड आवश्यक भए पनि नेपालमा यसको पालना र नवीकरणको पक्ष फितलो रहेको औंल्याउनुभयो।

यसैगरी एनपिआरसीका अनुसन्धान निर्देशक डा. दीपक महतले अनुसन्धान व्यक्तिगत लाभमा मात्र सीमित नभई राष्ट्रको समग्र आर्थिक तथा सामाजिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। एनपिआरसीका संस्थापक डा. कृष्णप्रसाद धिताल, अथर्व बिजनेस कलेजका प्राचार्य डा. हिरालाल श्रेष्ठ, डा. महेश्वरप्रसाद यादव, डा. माला खरेल र डा. लता घिमिरे लगायतले विश्वविद्यालयहरूमा अनुसन्धानमैत्री वातावरण निर्माण गर्नुपर्ने र यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो।

विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि तथा महाविद्यावारिधि (पोष्ट डक्टोरेट) गरेका ५० भन्दा बढी अनुसन्धानदाताहरूको सहभागिता रहेको यस सम्मेलनमा महाविद्यावारिधि गर्ने विभिन्न प्राज्ञिक व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।