बाजुराको बुढीगंगामा यात्रुवाहक बस दुर्घटना, २४ जना घाइते

बाजुरा, ७ असार । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस अचानक ब्रेक फेल भई सडकको नालीतर्फ पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार बिहान ७ः१० बजे बस अनियन्त्रित भई सडकको बायाँ किनारामा पल्टिएको हो। बसमा चालकसहित कुल ३३ जना सवार थिए, जसमध्ये ९ जना यात्रुहरू सकुशल रहेका छन्।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड र जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले तत्काल घाइतेहरूको उद्धार गरेको थियो। घाइते भएका २४ जनामध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ भने गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि अछामस्थित प्रादेशिक अस्पताल बयलपाटामा रिफर गरिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।