रुकुमपूर्वको सिस्नेमा यात्रुवाहक जिप दुर्घटना: चालकसहित १४ जना सवार, धेरै यात्रु घाइते भएको आशङ्का
रुकुमपूर्व, १७ असार । रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट सिस्ने गाउँपालिका–४ दाडिङतर्फ जाँदै गरेको एउटा यात्रुवाहक जिप बुधबार दुर्घटनामा परेको छ। लु १ ज ४६२४ नम्बरको जिप सिस्ने–४ स्थित झाक्रीपोले भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो।
स्थानीयका अनुसार जिप उकालो सडक चढ्ने क्रममा अचानक अनियन्त्रित भई सडकबाट तल खसेको जनाइएकाे छ। दुर्घटनाका बेला जिपमा चालकसहित कुल १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा परी धेरै यात्रु घाइते भएको बताइए पनि उनीहरूको अवस्था र यकिन सङ्ख्या भने हालसम्म खुल्न सकेको छैन। घटना लगत्तै स्थानीय बासिन्दाहरू उद्धार कार्यमा जुटेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। भौगोलिक विकटताका कारण विस्तृत विवरण आउन केही समय लाग्ने देखिएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।