पेनाल्टी सुटआउटमा अष्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक क्वार्टरफाइनल नजिक, अन्तिम १६ मा ऐतिहासिक प्रवेश
काठमाडौँ, २० असार । इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इतिहास रचेको छ। योसँगै इजिप्ट पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जित्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
खेलको १३औँ मिनेटमा इमाम आशोरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। तर ५५औँ मिनेटमा मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि अष्ट्रेलियाले खेल १–१ को बराबरीमा ल्यायो। त्यसपछि दुवै टोलीले केही राम्रो अवसर बनाए पनि गोल गर्न सकेनन्।
पेनाल्टी सुटआउटमा अष्ट्रेलियाका कप्तान ह्यारी साउटरले पहिलो प्रहार नै क्रसबारमाथि प्रहार गरेपछि टोली दबाबमा परेको थियो। इजिप्टका मोहम्मद सलाहसहित सबै चार खेलाडीले आफ्नो प्रहार सफल बनाए। अन्तिम प्रहारमा लुकास हेरिङ्टनको बल पनि क्रसबारमा लागेपछि अष्ट्रेलियाको विश्वकप यात्रा समाप्त भयो।
विश्वकप इतिहासमा यसअघि कुनै पनि खेल जित्न नसकेको इजिप्टले यस संस्करणमा पहिलो जितसँगै नकआउट चरणमा स्थान बनाएको थियो। अब उसले क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिना र केप भर्डेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।