साप्सुको बगरबाट मझुवागढीको शिखरसम्म : ढुङ्गामा प्राण भर्दै मूर्तिकार
खोटाङ । साप्सु खोलाको बगरमा वर्षौँदेखि थुप्रिएका ती खस्रा र निर्जिव ढुङ्गाहरूले सायदै सोचेका थिए होलान्, एकदिन उनीहरूले देवत्व पाउनेछन् वा कुनै जातिको गौरवशाली इतिहास बोक्नेछन् । तर, अहिले दिक्तेलको शुभम् फाउण्डेशनमा छिनो र मार्तोलको ‘टक-टक’ आवाजसँगै ती ढुङ्गाहरूले नयाँ आकार लिइरहेका छन् । मूर्तिकारका सिर्जनशील हातहरूले ढुङ्गाको कठोरताभित्र लुकेको कोमलता र कलालाई बिस्तारै बाहिर ल्याउँदैछन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा जारी मूर्तिकला कार्यशाला अहिले केवल ढुङ्गा काट्ने थलो मात्र बनेको छैन, यो त नेपालका विभिन्न भूगोल र संस्कृतिको सङ्गमस्थल बनेको छ ।
ढुङ्गामा उत्रिएको किराती पहिचान
धरान मूर्तिकला घरका सञ्चालक धीरज राईको हातमा यतिबेला एउटा ठूलो ढुङ्गा छ । तर, उहाँको नजरमा त्यो ढुङ्गा मात्र होइन, किराती समुदायको मुन्धुमी संस्कार हो । उहाँ एकाग्र भएर त्यसमा चिन्डो (बाबु), सेलोमा, ढोल, झ्याम्टा, धनुकाँण र तीन चुलोको आकृति कोरिरहनुभएको छ ।
विगत १२ वर्षदेखि ढुङ्गासँग खेल्दै आउनुभएका राईका लागि यो काम साधना हो । खोटाङकै बुइपामा ठड्याइएको ११० फिट अग्लो यलम्बरको मूर्ति होस् वा धरानका चर्चित नगरप्रमुख हर्क साम्पाङको प्रतिमा, राईले आफ्नो सीपबाट धेरैको मन जितिसक्नुभएको छ । ‘एउटै ढुङ्गामा हाम्रो मौलिक पहिचान झल्काउने प्रयास गरिरहेको छु, उहाँ भन्नुहुन्छ ।
अनुभवको खानी : २५ वर्षको यात्रा
कार्यशालाको अर्को कुनामा नवलपरासीका विके नरबहादुर व्यस्त हुनुहुन्छ । मूर्तिकलाको क्षेत्रमा जीवनको साढे दुई दशक बिताउनुभएका नरबहादुर साप्सुको ढुङ्गामा माता कालीको साङ्केतिक मुहारलाई जीवन्तता दिँदै हुनुहुन्छ ।
बर्दघाटको बुद्ध मूर्तिदेखि स्याङ्जाको चर्चित ‘सुन्तलाको मूर्ति’ सम्म बनाइसकेका नरबहादुरका लागि यो कार्यशाला अनुभव साटासाट गर्ने थलो पनि हो । उहाँको अनुभवले भन्छ, ‘यदि इमान्दार भएर काम गर्ने हो भने मूर्तिकलाबाटै स्वरोजगार बन्न सकिन्छ, विदेश धाउनु पर्दैन ।’
महिला नेतृत्व र युवा जोस
यो कार्यशालामा पुरुष कलाकारको मात्र बाहुल्य छैन । काठमाडौँकी सुक्ष्मा श्रेष्ठ विगत ३० वर्षदेखि यो क्षेत्रमा सक्रिय हुनुहुन्छ । पारिवारिक जिम्मेवारीले केही समय विश्राम लिए पनि पछिल्लो १० वर्षदेखि उहाँ पुनः ढुङ्गामै आफ्नो भविष्य खोज्दै हुनुहुन्छ । यतिबेला उहाँ गणेशको मूर्तिलाई अन्तिम रूप दिन तल्लीन हुनुहुन्छ ।
त्यस्तै, नयाँ पुस्ताका प्रतिनिधि बनेर ललितकलाका विद्यार्थीहरू आयुष सुनार र विदुर पौडेल पनि अग्रजहरूलाई साथ दिँदै सीप निखारिरहेका छन् ।
लक्ष्य: मझुवागढीको सौन्दर्यीकरण
पाँच प्रदेशका १२ जिल्ला र एक भारतीय कलाकारसहितको यो जमघटको एउटै उद्देश्य छ, मझुवागढीलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनु । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानका निर्देशक नकुल सिंहका अनुसार यहाँ बुद्ध, शिव, रेडपाण्डा र किराती संस्कृतिका विविध मूर्तिहरू तयार भइरहेका छन् ।
कोशी प्रदेश सरकारको सहयोगमा आयोजित यो कार्यशालाले तयार गरेका यी कलाकृतिहरूलाई ऐतिहासिक एवं धार्मिक स्थल मझुवागढीमा सजाइनेछ । दिक्तेल बजारबाट करिब ४५ मिनेटको उकालो हिँडेपछि पुगिने मझुवागढी अब केवल ऐतिहासिक किल्ला मात्र रहने छैन, यो खुला सङ्ग्रहालयका रूपमा पनि चिनिनेछ ।
कला र पर्यटनको फ्युजन
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले भौतिक विकाससँगै कला र साहित्यलाई पनि उत्तिकै महत्त्व दिएको छ । यसअघि रेडपाण्डा महोत्सव, बाँस सम्मेलन र मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला गरिसकेको यस पालिकाले अहिले ढुङ्गाको माध्यमबाट पर्यटन प्रवर्द्धनको बाटो रोजेको छ ।
नगरप्रमुख तीर्थराज भट्टराई र जिल्लाका अन्य प्रमुखहरूको उपस्थितिमा सुरु भएको यो कार्यशालाले खोटाङको भौगोलिक र सांस्कृतिक गरिमालाई विश्वभर फैलाउने विश्वास गरिएको छ ।
जब यी मूर्तिहरू मझुवागढीको चुचुरोमा सजाइनेछन्, तब ती निर्जिव ढुङ्गाहरूले खोटाङ आउने जो-कोही पर्यटकसँग आफ्नो गौरवगाथा सुनाउनेछन् । र, भनिरहेका हुनेछन्, ‘मिहिनेत गर्ने हो भने हाम्रै माटो र ढुङ्गामा सुन फलाउन सकिन्छ ।’