भारी वर्षाबीच कार्यवाहक प्रमुख सुनिता डंगोलसँग लगनटोलमा ‘टोल–टोलमा फिल्म महोत्सव’, स्थानीयको उत्साहजनक सहभागिता

काठमाडौं, २० असार । काठमाडौं महानगरपालिकाको आयोजना तथा न्हूगु पलाः सांस्कृतिक मिसा पुचःको सहकार्यमा सञ्चालित ‘टोल–टोलमा फिल्म महोत्सव’ अन्तर्गत शनिबार लगनटोलमा आयोजित चलचित्र तथा सांस्कृतिक कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको छ। दिउँसोदेखि परेको अविरल वर्षाका बाबजुद पनि ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेपछि कार्यक्रम उत्साहपूर्ण बनेको थियो।

साँझ ५ बजेदेखि सुरु भएको कार्यक्रममा चलचित्र प्रदर्शन, प्रत्यक्ष नाटक तथा विविध सांस्कृतिक प्रस्तुतिमार्फत स्थानीय कला, संस्कृति र रचनात्मक उद्योगको प्रवर्द्धन गर्ने प्रयास गरिएको थियो। निरन्तरको वर्षाले केही समय कार्यक्रम सञ्चालनमा असर पुर्‍याए पनि दर्शकको उत्साहमा कुनै कमी देखिएन। वर्षाको प्रवाह नगरी स्थानीय बासिन्दा कार्यक्रमस्थलमा उपस्थित भई आफ्नै टोलमा आयोजित चलचित्र महोत्सवको भरपुर आनन्द लिएका थिए।

कार्यक्रमको शुभारम्भ काठमाडौं महानगरपालिका वडा नं. २१ का अध्यक्ष उदयचूडामणि बज्राचार्यको स्वागत मन्तव्यबाट भएको थियो। उनले समुदायस्तरमा कला, संस्कृति र चलचित्रलाई जोड्ने ‘टोल–टोलमा फिल्म महोत्सव’ ले स्थानीय पहिचानको संरक्षण, प्रवर्द्धन तथा सिर्जनात्मक उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिलाई स्थानीय बासिन्दाले आत्मीय रूपमा स्वागत गरेका थिए। आफ्नै टोल र समुदायमा कार्यवाहक प्रमुखसँगै बसेर खुला आकाशमुनि चलचित्र हेर्न पाउँदा आफूहरू उत्साहित र खुसी भएको स्थानीयले प्रतिक्रिया दिएका थिए। उनीहरूले ‘टोल–टोलमा फिल्म महोत्सव’ को अवधारणालाई स्वागतयोग्य र समुदायमै संस्कृति तथा चलचित्र पुर्‍याउने प्रभावकारी अभियानका रूपमा लिँदै यसलाई निरन्तर सञ्चालन गर्न आग्रह गरेका थिए।

कार्यक्रममा बज्रयोगिनी र मञ्जुश्रीको सांस्कृतिक नृत्यसँगै तामाङ, थारु तथा नेवार समुदायका मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। साथै चलचित्रका गीतमा आधारित आकर्षक नृत्य प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो।

फिल्म महोत्सव अन्तर्गत निर्देशक आदित्य खड्काको ‘सपारु’, निर्देशक समग्र शाहको ‘वागिङ टेल’, काठमाडौं महानगरपालिका र सेतो मच्छिन्द्रनाथ जात्रा व्यवस्थापन समितिको संयुक्त निर्माणमा तयार गरिएको वृत्तचित्र ‘सेतो मच्छिन्द्रनाथ’ तथा निर्देशक जेनिश शाक्यको नेपाल भाषाको हरर–कमेडी चलचित्र ‘ख्याः वल’ प्रदर्शन गरिएको थियो। प्रदर्शन गरिएका चलचित्रहरूले स्थानीय संस्कृति, परम्परा, सम्पदा तथा सामाजिक विषयवस्तुलाई सशक्त रूपमा प्रस्तुत गरेका थिए।

त्यसैगरी, एक थिएटर नेपालद्वारा प्रस्तुत ‘चरा हरु’ शीर्षकको प्रत्यक्ष नाटक पनि मञ्चन गरिएको थियो। ‘भाइ फुटे गोहार लुटे’ विषयवस्तुमा आधारित नाटकले सामाजिक एकता, सहकार्य र सामुदायिक सम्बन्धको महत्वलाई कलात्मक ढंगले उजागर गरेको थियो।

काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘टोल–टोलमा फिल्म महोत्सव’ को उद्देश्य स्थानीय कथा, संस्कृति, सम्पदा, मौलिक जीवनशैली तथा समुदायसँग जोडिएका सिर्जनात्मक अभिव्यक्तिलाई टोल–टोलसम्म पुर्‍याउँदै रचनात्मक उद्योगको प्रवर्द्धन गर्नु रहेको जनाएको छ। लगनटोलमा वर्षाका बाबजुद देखिएको स्थानीयको उत्साहपूर्ण सहभागिताले समुदायमा आधारित यस्ता सांस्कृतिक कार्यक्रमप्रति नागरिकको आकर्षण र अपनत्व बढ्दै गएको संकेत गरेको आयोजकको भनाइ छ।