इरान र अमेरिकाबीच युद्धको सन्त्रास: अमेरिकी बमबारीले इरानी बन्दरगाह सहरहरूमा ठुलो क्षति, हर्मुज जलसन्धि बन्द

 

तेहरान/वासिङ्टन । इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको छ । इरानको शक्तिशाली सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (IRGC) ले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलडमरूमध्य) बन्द गरेपछि अमेरिकाले इरानका विभिन्न बन्दरगाह सहरहरूमा भीषण बमबारी गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले यसै हप्ता इरानमाथि यो तेस्रो चरणको आक्रमण भएको पुष्टि गरेको छ । इरानले हर्मुज जलसन्धिमा साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि ‘निर्मम’ आक्रमण गरेपछि जवाफमा आफूहरूले सैन्य कारबाही सुरु गरेको अमेरिकाको दाबी छ ।

बन्दरगाह सहरहरूमा शक्तिशाली विस्फोट
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, सिरिक, चबाहार, बन्दर–ए देइर र असलुयेह जस्ता प्रमुख बन्दरगाह सहरहरूमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । अमेरिकी आक्रमणबाट ती सहरहरूमा ठुलो भौतिक क्षति भएको अनुमान गरिएको छ ।

जहाजमा आगलागी, चालक दलका सदस्य बेपत्ता
अमेरिकाका अनुसार इरानी आक्रमणका कारण साइप्रसको जहाजमा भीषण आगलागी हुनुका साथै इन्जिनमा क्षति पुगेको छ । उक्त जहाज अगाडि बढ्न नसक्ने अवस्थामा रहेको र चालक दलका एक सदस्य बेपत्ता भएको CENTCOM ले जनाएको छ । युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन (UKMTO) ले पनि ओमानको तट नजिकै जहाजमा आगलागी भएको रिपोर्ट प्राप्त भएको पुष्टि गरेको छ ।

‘प्रतिशोध राष्ट्रको संकल्प हो’ : खामेनी
यसैबीच, इरानका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीले आफ्ना पिता अली खामेनीको हत्याको बदला लिने उद्घोष गरेका छन् । अमेरिकी र इजरायली सेनाले आफ्ना पिताको हत्या गरेको आरोप लगाउँदै उनले भनेका छन्, “प्रतिशोध लिनु नै हाम्रो राष्ट्रको दृढ इच्छाशक्ति र संकल्प हो ।”

इरानको चेतावनी: ‘युद्धका लागि तयार छौँ’
इरानी विदेश मन्त्रालयका सल्लाहकार अली सफारीले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसको उचित जवाफ दिइने बताएका छन् । उनले अमेरिकाले जुन १६ मा भएको समझदारी पत्र (MoU) को पालना नगरेको र अन्तर्राष्ट्रिय नियमविपरीत ढुवानी मार्ग प्रयोग गरेको आरोप लगाएका छन् ।

“अमेरिकाले आफूले हस्ताक्षर गरेको सम्झौताको सम्मान गर्नुपर्छ अन्यथा पछि हट्नुपर्छ,” सफारीले भने, “इरान तपाईँहरूले सोचेभन्दा धेरै शक्तिशाली छ र हामी युद्धका लागि पूर्ण रूपमा तयार छौँ ।”

इरानले विश्वको तेल आपूर्तिको मुख्य मार्ग मानिने हर्मुज जलसन्धि बन्द गरेपछि विश्वभर इन्धनको मूल्य बढ्न सक्ने र अर्को ठुलो युद्ध सुरु हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ । अमेरिकाले भने इरानको नागरिक जहाजमाथि आक्रमण गर्ने क्षमतालाई कमजोर बनाउन बमबारी जारी राख्ने बताएको छ ।