ताप्लेजुङमा ट्याक्टर दुर्घटना: चालकसहित दुई जना बेपत्ता
काठमाडौँ, भदौ २२ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान करिब १५ मिटर तल खोलामा खसेको थियो ।
दुर्घटनामा परेर ट्याक्टर चालक समीर बराइली र त्यसमा सवार अनिल नाल्बो बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कमल बजगाईका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ । दुर्घटनापछि ट्याक्टरमा सवार १४ वर्षीय समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे जानकारी गराएका थिए ।
खोलाको बगरमा ट्याक्टर फेला परे पनि चालक र अर्का एक यात्रुलाई भने खोलाले बगाएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।
उक्त ट्याक्टर अरुण भेनियर कम्पनीको रहेको र कम्पनीका सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८०० मिटर उत्तरतर्फ पर्दछ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।