बेपत्ताको पहिचानका लागि ‘डिएनए’ नमूना उपलब्ध गराउन तनहुँ प्रहरीको आग्रह
काठमाडौँ, भदौ २२ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले आफन्तहरूलाई ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेका अनुसार त्रिशूली नदीमा फेला परेका बेवारिसे शवहरूको पहिचानका लागि हालसम्म कोही पनि आफन्त डिएनए परीक्षणका लागि सम्पर्कमा आएका छैनन् । बाढीले बगाएर ल्याएका शवमध्ये तनहुँको आँबुखैरेनी र देवघाटस्थित त्रिशूली नदी किनारबाट हालसम्म ३९ वटा शव फेला परेका छन् ।
फेला परेका शवमध्ये २४ वटालाई डिएनए परीक्षण र थप प्रक्रियाका लागि पोखरा पठाइएको छ भने बाँकी १५ वटा शवलाई व्यास नगरपालिका–५ चनौली क्षेत्रमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीपछि तनहुँ घर भएका ३३ जना व्यक्ति सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो । तीमध्ये हालसम्म ९ जना सम्पर्कमा आएका छन् भने बाँकी व्यक्तिको खोजी तथा पहिचान कार्य जारी रहेको छ । प्रहरीले आफ्ना परिवारका सदस्य बेपत्ता भएका व्यक्तिहरूलाई पहिचान सुनिश्चित गर्न सम्बन्धित निकायमा सम्पर्क गरी सहयोग गर्न अपिल गरेको छ ।