प्रकृति र पितृको सम्मान : चेपाङ बस्तीमा ‘न्वागी’ को रौनक

काठमाडौँ, भदौ २२ । भदौको हरियाली र नयाँ अन्नबाली पाक्ने समयसँगै पहाडका खोँच र काखमा रहेका चेपाङ बस्तीहरूमा आज एउटा भिन्नै उल्लास छाएको छ। ढ्याङ्ग्रोको ताल, पान्दे (झाँक्री) को मन्त्रोच्चार र नयाँ पाकेको घैया धानको सुगन्धले चेपाङ समुदायको मौलिक पहिचान झल्काउने ‘न्वागी’ अर्थात् ‘छोनाम’ पर्वको स्वागत गरिरहेको छ।

नेपालको सीमान्तकृत आदिवासी चेपाङ समुदायका लागि न्वागी केवल एउटा पर्व मात्र होइन, यो उनीहरूको जीवनशैली, प्रकृतिप्रतिको अगाध आस्था र पुर्खाहरूप्रतिको कृतज्ञता व्यक्त गर्ने माध्यम पनि हो। विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका पहाडी क्षेत्रमा बसोबास गर्ने यो समुदायले आज आफ्ना वर्षभरिको मेहनतबाट उब्जिएको पहिलो बाली भूमि र पितृलाई अर्पण गर्दैछन् ।

पितृलाई नचढाई अन्न नखाने परम्परा
चेपाङ संस्कृतिमा एउटा दरिलो मान्यता छ,  ‘जबसम्म नयाँ अन्नबाली पितृ र भूमि देउतालाई चढाइँदैन । तबसम्म, त्यसलाई खानु हुँदैन ।’ त्यसैले न्वागीका दिन घैया धान, काउनो, गाभा, पिँडालु, घिरौँला र निबुवा जस्ता नयाँ उत्पादनहरू विशेष पूजाका साथ चढाइन्छ ।

नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार, पितृलाई नचढाई नयाँ बाली खाएमा परिवारमा अनिष्ट हुने र स्वास्थ्य बिग्रने जनविश्वास छ। यो परम्पराले चेपाङ समुदाय र प्रकृतिबीचको गहिरो सम्बन्धलाई पुष्टि गर्दछ ।

रातभर ढ्याङ्ग्रो र पान्देको फलाको
न्वागीको मुख्य आकर्षण भनेकै ‘पान्दे’ (झाँक्री) हरूको विशेष पूजा हो । रातभर ढ्याङ्ग्रो बजाउँदै, फलाक्दै पितृको स्मरण गर्ने र आर्शिवाद लिने यो विधि निकै रोचक र आध्यात्मिक हुन्छ । कतिपय स्थानमा कुखुराको बलि दिएर पितृलाई खुसी पार्ने गरिन्छ। यो रात उनीहरूका लागि पुर्खासँग संवाद गर्ने र भविष्यको कुशलता माग्ने समय हो ।

सामाजिक एकता र सार्वजनिक बिदा
हिजोका दिनमा ओडार र जङ्गलको काखमा खुम्चिएको यो समुदायको संस्कृति अहिले बिस्तारै मूलधारमा आउन थालेको छ। बागमती प्रदेश सरकारले २०७९ देखि नै न्वागीको अवसरमा मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिँदै आएको छ। यसले चेपाङ समुदायको पहिचानलाई राजकीय सम्मान मिलेको आभास दिलाएको छ ।

पूजा सकिएपछि आफन्त, इष्टमित्र र छरछिमेकी भेला भएर सामूहिक भोज खाने, नाचगान गर्ने र एकअर्कालाई टीका लगाइदिने गरिन्छ । यस दिनलाई ‘वारना’ का रूपमा मनाउँदै उनीहरू काममा निस्कँदैनन्, बरु घरमै बसेर सामाजिक सद्भाव साटासाट गर्छन् ।

सांस्कृतिक अस्तित्वको रक्षा
२०७८ को जनगणना अनुसार नेपालमा चेपाङको जनसङ्ख्या ८४ हजार ३६४ छ । वर्षभरि मृत्यु भएका आफन्तको सम्झना र नयाँ पुस्तालाई आफ्नो संस्कार हस्तान्तरण गर्ने कडीका रूपमा न्वागी पर्वले महत्वपूर्ण भूमिका खेलेको छ ।

हरेक वर्ष पालैपालो विभिन्न जिल्लामा आयोजना गरिने न्वागी महोत्सवले यो सीमान्तकृत समुदायलाई गोलवद्ध मात्र गरेको छैन, उनीहरूको मौलिकतालाई पर्यटकीय आकर्षणका रूपमा पनि विकसित गर्दै लगेको छ। प्रकृतिलाई भगवान् मान्ने र माटोको सुगन्धमा रमाउने चेपाङ समुदायको यो ‘छोनाम’ पर्वले सादा जीवन र उच्च विचारको एउटा जीवन्त उदाहरण पेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *