सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो : चाँदी पनि महँगियो

काठमाडौँ, १८ साउन । स्थानीय बजारमा आज साताको दोस्रो कारोबार दिन सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरेको छ । हिजो आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३१५ रुपैयाँमा किनबेच भएको चाँदी आज ३५ रुपैयाँले बढेर ४ हजार ३५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा हुने उतारचढावका आधारमा महासङ्घले नेपाली बजारमा दैनिक विनिमय दर तोक्ने गर्दछ । पछिल्लो समय बजारमा सुनको भाउमा सामान्य उतारचढाव कायमै रहेको व्यवसायीहरूले बताएका छन् ।