बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै : सत्ता साझेदारमै खटपट, पुग्ला बहुमत ?
हेटौँडा, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । सत्ता गठबन्धनभित्रको आन्तरिक कलह र राप्रपाभित्रको विवादका कारण आइतबार र सोमबार पटक–पटक स्थगित भएको प्रदेशसभा बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
यसअघि सोमबारका लागि तय गरिएको बैठक पटक–पटक सर्दै राति ८ बजे पुर्याइएको थियो । तर, सत्ता पक्षकै सांसदहरू अनुपस्थित हुने र विपक्षीले अवरोध गर्ने सङ्केत पाएपछि बैठक आजसम्मका लागि सारिएको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्ता पक्षभित्रको विवाद नसुल्झिएसम्म विश्वासको मतको प्रक्रिया अघि नबढाउन माग गर्दै आएको छ ।
मुख्यमन्त्री थापाका लागि सबैभन्दा ठुलो चुनौती आफ्नै गठबन्धन जोगाउनु बनेको छ । सोमबार विश्वासको मत लिने तयारी हुँदै गर्दा सत्ता साझेदार नेकपाका ७ जना प्रभावशाली सांसदहरू काठमाडौँमै रोकिएका छन् । मन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेका युवराज चौलागाईं, रुकु चौलागाईं, उर्मिला लामा, गङ्गा नारायण श्रेष्ठ, लक्ष्मण लम्साल र कृष्ण खनाललगायतका सांसदहरू बैठकमा सहभागी हुन हेटौँडा आएका छैनन् । उनीहरूको अनुपस्थितिले मुख्यमन्त्री थप दबाबमा पर्नुभएको छ ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । नेकपा (२६) र एमाले (२५) का सबै सांसदले पक्षमा मतदान गर्दा पनि ५१ मत मात्र पुग्छ । बहुमतका लागि राप्रपाका कम्तीमा दुई सांसदको समर्थन अनिवार्य छ ।
तर, राप्रपाभित्रको विवाद अहिले अदालतसम्म पुगेको छ । राप्रपा केन्द्रले सरकारलाई समर्थन नगर्ने निर्णय गरे पनि संसदीय दलका नेता उद्धब थापाले समर्थन गरेपछि विवाद चर्किएको हो । राप्रपा सचेतक कुमारी तामाङले दायर गरेको रिटमा उच्च अदालत हेटौँडाले कारण देखाऊ आदेश जारी गर्दै भदौ १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । अदालती प्रक्रिया टुङ्गो नलागी विश्वासको मत लिन नहुने राप्रपा र कांग्रेसको अडान छ ।
मुख्यमन्त्री थापाले आफ्नै गठबन्धनका असन्तुष्ट सांसद र राप्रपाका सांसदहरूलाई फकाएर आज बहुमत सिद्ध गर्न सक्नुहुन्छ वा हुन्न भन्ने विषयले बागमती प्रदेशको राजनीतिलाई थप रोचक बनाएको छ ।