चितवनमा २८० शवको ‘डीएनए’ नमुना संकलनपछि गाडियाे लास

चितवन, १६ भदौ । रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएका र त्रिशूली तथा नारायणी नदीका विभिन्न तटीय क्षेत्रमा फेला परेका शवहरूको व्यवस्थापन कार्यलाई चितवनमा तीव्र पारिएको छ । हालसम्म पहिचान हुन नसकेका २८० वटा शवको ‘फरेन्सिक’ परीक्षण र ‘डीएनए’ नमुना संकलन गरी देवघाटस्थित जंगलमा गाडिएका हुन ।

भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखि नै सुरक्षाकर्मीले नदीबाट संकलन गरी ल्याएका शवहरूलाई अस्पतालले संरक्षण गरेको थियो । भदौ ११ गतेदेखि नै फरेन्सिक विज्ञ र चिकित्सकहरूको विशेष टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक जैविक नमुना संकलन र अभिलेखीकरणको काम सुरु गरिएको हो । भविष्यमा आफन्तले दाबी गर्न आएमा डीएनए परीक्षणमार्फत पहिचान गर्न सहज होस् भन्नका लागि यो वैज्ञानिक विधि अपनाइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट कुल ३२१ वटा शव संकलन गरिएको छ । जसमध्ये : सनाखत भएको : १२ वटा शव आफन्तले बुझिसकेका छन् भने पुरुष : ११६ जना, महिला : ६६ जना, बालक : ७ जना, बालिका : ६ जना, अवस्था नखुलेको/अवशेष : १२६ वटा खाल्डाे खनेर भविष्यमा पहिचान गर्न सकिने गरी गाडिएका छन् ।
प्रहरीका अनुसार भदौ १३ गते ९६ वटा, भदौ १४ गते १०३ वटा र भदौ १५ गते ८१ वटा शवको व्यवस्थापन गरिएको हो ।

नदी किनारमा शव खोजी गर्ने कार्य अहिले पनि सुरक्षा निकायले दैनिक रूपमा जारी राखेका छन् । फेला परेका शवहरूलाई तत्काल भरतपुर अस्पताल पुर्‍याई परीक्षण गर्ने र त्यसपछि व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।