१८ महिनामा सकिनुपर्ने वालिङको आयुर्वेद भवन ५ वर्षदेखि अलपत्र, ठेक्का तोड्ने तयारी
वालिङ (स्याङ्जा)। स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीमा निर्माणाधीन धनुबाँसे आयुर्वेद औषधालयको भवन पाँच वर्षदेखि अलपत्र परेको छ। १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माण कार्य अधुरै रहेको हो।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत वि.सं. २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग भवन निर्माणको सम्झौता भएको थियो। तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि भवनको हालसम्म ५० प्रतिशत मात्रै काम भएको छ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालले निर्माण कम्पनीको बेवास्ताका कारण आयोजना अघि बढ्न नसकेको जानकारी दिनुभयो। लम्सालका अनुसार कार्यालयले ठेक्का तोड्ने आशयको सूचना समेत निकालिसकेको छ। “भदौ अन्तिमसम्म पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाए ठेक्का रद्द गरिनेछ,” उहाँले भन्नुभयो।
भाडाको भवनमा औषधालय: महत्त्वपूर्ण सेवा ठप्प
भवन निर्माण अलपत्र परेपछि औषधालयले भाडाको साँघुरो भवनबाट सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख हरिप्रसाद अर्यालले बताउनुभयो। भौतिक पूर्वाधारको अभावमा औषधालयले प्रदान गर्ने विशिष्ट सेवाहरू प्रभावित भएका छन्।
“ठाउँको अभाव हुँदा मेडिकल योगा, शिरोधारा र औषधि निर्माण जस्ता सेवाहरू अहिले पूर्ण रूपमा ठप्प छन्,” प्रमुख अर्यालले भन्नुभयो, “अहिले औषधालय सामान्य परामर्श र औषधोपचारमा मात्र सीमित हुनुपरेको छ।”
जनप्रतिनिधिको आक्रोश
वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङले निर्माण व्यवसायीको अटेरीका कारण हजारौँ नागरिक स्वास्थ्य सेवाबाट वञ्चित भएको बताउनुभयो। स्थानीय र जनप्रतिनिधिले पटक–पटक आग्रह गर्दा पनि निर्माण कम्पनीले काममा चासो नदेखाएको उहाँको गुनासो छ।
“स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको पूर्वाधार निर्माणमा देखिएको यो लापरबाही क्षम्य छैन,” अध्यक्ष गुरुङले भन्नुभयो। स्थानीयवासीले पनि ठेकेदारको ढिलासुस्तीप्रति कडा विरोध जनाउँदै आएका छन्। भदौ अन्तिमसम्म पनि काम सुरु नभए कानुनी प्रक्रिया पुर्याएर ठेक्का तोड्ने र नयाँ व्यवस्थाबाट भवन सम्पन्न गर्ने तयारी कार्यालयले गरेको छ।