देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन सञ्चालन
नुवाकोट, २१ भदौ । बागमती प्रदेश सरकारको विशेष पहलमा नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटमा तुइन जडान गरी सञ्चालनमा ल्याइएको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुल बगाएपछि सास्ती खेपिरहेका स्थानीय बासिन्दाको सहजताका लागि प्रदेश सरकारले तुइनको व्यवस्था गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, नुवाकोटको सक्रियतामा तुइन जडान कार्य सम्पन्न भएको जानकारी दिनुभयो । बाढीले सडक र पुल सञ्जाल विच्छेद गरेपछि त्यस क्षेत्रका नागरिकलाई त्रिशूली नदी वारपार गर्न निकै सास्ती हुँदै आएको थियो ।
मुख्यमन्त्री थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना तर महत्त्वपूर्ण पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । “जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुनुपर्छ भन्ने प्रतिबद्धताका साथ हामी अघि बढेका छौँ,” उहाँले भन्नुभयो ।
तुइन सञ्चालनमा आएसँगै अब स्थानीयलाई त्रिशूली नदी वारिपारि गर्न मात्र नभई खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको ढुवानीमा समेत ठुलो राहत पुग्नेछ । मुख्यमन्त्रीले जनताको सहजताका लागि प्रदेश सरकार निरन्तर क्रियाशील रहने र आवश्यकताअनुसार अन्य स्थानमा पनि यस्ता अस्थायी तथा स्थायी पूर्वाधार निर्माणलाई तीव्रता दिइने स्पष्ट पार्नुभयो ।