पृथ्वी राजमार्गको परेवाभीर खण्ड आज पनि १२ घण्टा ठप्प : मर्मत कार्यलाई तीव्रता दिन आवतजावतमा रोक

धादिङ, २१ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभीर सडक खण्ड मर्मतका लागि आज (आइतबार) दोस्रो दिन पनि १२ घण्टा पूर्ण रूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बिहान ६:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सो खण्डमा सवारी आवागमन ठप्प रहनेछ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले परेवाभीर क्षेत्रको सडकमा गम्भीर क्षति पुर्‍याएपछि मर्मत कार्यलाई तीव्रता दिन राजमार्ग बन्द गरिएको हो । बाढीले सडकको तल्लो भाग र सुरक्षा पर्खालमा क्षति पुर्‍याएकाले विगत केही दिनदेखि यहाँ एकतर्फी मात्र सवारी सञ्चालन हुँदै आएको थियो ।

प्रशासनले मर्मत अवधिभर एम्बुलेन्स र शववाहन जस्ता अत्यावश्यक सवारीसाधन बाहेक अन्य सम्पूर्ण निजी तथा सार्वजनिक सवारी सञ्चालनमा पूर्ण रोक लगाएको छ । शनिबार पनि सोही समय तालिकाअनुसार सडक बन्द गरी मर्मत गरिएको भए तापनि काम सम्पन्न हुन नसकेकाले आज पनि बन्दलाई निरन्तरता दिइएको हो ।

राजमार्ग बन्द हुँदा यात्रु तथा सवारी चालकहरूमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्रशासनले सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न सबैमा अनुरोध गरेको छ । सडक विभागका प्राविधिकहरूले आज बेलुकासम्म मर्मत सकेर सडकलाई थप सहज बनाउने गरी काम भइरहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *