भोटेकोशी बाढी: हालसम्म १ हजार ३५५ को मृत्यु पुष्टि, झन्डै ५ हजार अझै बेपत्ता
काठमाडौँ, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार ३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म देशका विभिन्न स्थानबाट संकलन गरिएका ती शवहरूमध्ये ९८ जनाको सनाखत भई आफन्तलाई बुझाइएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ती महतका अनुसार बाढीको तीव्र बहावका कारण बगेर आएका कतिपय शवहरू अङ्गभङ्ग भएको अवस्थामा फेला परेका छन्। हालसम्म रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, पूर्वी नवलपरासीमा २२२ र पश्चिम नवलपरासीमा २२१ वटा शव फेला परेका छन्।
प्रवक्ता महतले बाढीपहिरोका कारण हालसम्म कुल चार हजार ९९६ जना नागरिकहरू सम्पर्कविहीन रहेको जानकारी दिनुभयो। यसरी बेपत्ता हुनेहरूमा रसुवा जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार रसुवाबाट करिब एक हजार ९६७ जना र नुवाकोटबाट करिब दुई हजार ३४० जना नेपाली नागरिक रहेका छन्। यसैगरी, सुरक्षाकर्मी एवं सरकारी कर्मचारी करिब १०० जना र विदेशी पर्यटकसहित ५८९ जना विदेशी नागरिक अझै पनि सम्पर्कविहीन रहेको तथ्याङ्क छ।
विपद् व्यवस्थापन टोलीको सक्रियतामा हालसम्म बाढी प्रभावित क्षेत्रहरूबाट १३ हजार ३९६ जनाको सकुशल उद्धार गरिएको छ। यसैगरी, कुल छ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ, जसमध्ये विभिन्न अस्पतालमा भर्ना भएका ३२३ जनामध्ये २२८ जना निको भएर घर फर्किसकेका छन्।
बाढीका कारण विस्थापित भएका तीन हजार ५३३ जना नागरिकहरूलाई हाल प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरहरूमा आश्रय दिइएको छ। यसरी आश्रय लिनेहरूमा रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन्।
प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि हाल तीनवटै सुरक्षा निकायका गरी कुल २१ हजार ४०२ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको प्राधिकरणले जनाएको छ। जसमा नेपाली सेनाका नौ हजार २८७, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सुरक्षाकर्मीहरू अहोरात्र खटिएका छन्।