भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर परिवारको १६ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ, भदौ २६ । भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान १६ दिनसम्म पनि फेला नपरेपछि अन्ततः परिवारले आश मारेर बिहीबार उनीहरूको अन्तिम संस्कार गरेको छ । खोजी कार्यले कुनै सफलता नपाएपछि बागलुङ नगरपालिका–९ तित्याङ निवासी पौडेल परिवारले हिन्दू परम्पराअनुसार कुशको शव (पुत्तल) बनाएर दाहसंस्कार गरेका हुन् ।

त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया पत्नी प्रमिला पाठक, चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदिति बाढीपछि बेपत्ता भएका थिए । लामो समयसम्मको खोजी प्रयास निरर्थक भएपछि धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्तिम विदाई गरिएको आफन्त विष्णु शर्माले जानकारी दिनुभयो । दिवंगत राजेश आफ्ना मातापिताका एकमात्र छोरा हुनुहुन्थ्यो ।

यसैबीच, उक्त बाढी र पहिरोका कारण बागलुङका अन्य १६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार त्रिशूली हाइड्रोपावर र त्रिशूली-३ ‘बी’ आयोजनामा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक र बागलुङ नगरपालिकाका चार जना गरी १६ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी कार्य जारी रहे पनि हालसम्म कुनै पत्तो लाग्न सकेको छैन ।