एनपिएलको टिकट बिक्री अधिकार इसेवा, ओटिटी अधिकार नेट टिभी र प्रसारण अधिकार हिमालयन टेलिभिजनलाई
काठमाडौँ, २२ भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि मिडिया र टिकट बिक्रीको अधिकार विभिन्न कम्पनीहरूलाई प्रदान गरेको छ । क्यानले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै बोलपत्र (टेन्डर) प्रक्रियामार्फत सफल अधिकारधनी कम्पनीहरूको नाम सार्वजनिक गरेको हो ।
क्यानका अनुसार एनपिएलको आगामी संस्करणको टिकट बिक्री गर्ने जिम्मा डिजिटल वालेट सेवा प्रदायक ‘इसेवा लिमिटेड’ ले पाएको छ । इसेवाले ८५ लाख रुपैयाँमा यो अधिकार खरिद गरेको हो । सम्झौताअनुसार टिकट बिक्रीबाट हुने कुल आम्दानीको ९५ प्रतिशत हिस्सा क्यानले प्राप्त गर्नेछ भने बाँकी ५ प्रतिशत रकम इसेवाले पाउनेछ ।
क्यानले एनपिएलको विश्वव्यापी ओटिटी अधिकारका लागि नेट टिभी प्रालिसँग १८ करोड ४ लाख रुपैयाँमा सम्झौता गरेको छ । त्यसैगरी, नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार हिमालयन टेलिभिजनले प्राप्त गरेको छ । हिमालयन टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँको बोलपत्र पेस गर्दै उक्त अधिकार हात पारेको हो ।
नेपाली क्रिकेटको बहुप्रतीक्षित यो प्रतियोगिता आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुने कार्यतालिका छ । विभिन्न फ्रेन्चाइज टोलीहरू सहभागी हुने यस लिगलाई व्यावसायिक रूपमा सफल बनाउन क्यानले यस पटक मिडिया र प्रसारण अधिकारबाट उल्लेख्य आम्दानी गर्न सफल भएको छ ।