राष्ट्रसंघको ८१औं महासभा सुरु, विश्वशान्ति र जलवायु परिवर्तन प्रमुख एजेन्डा

न्युयोर्क, २४ भदौ । संयुक्त राष्ट्रसंघको ८१औं महासभा मंगलबारदेखी सुरु भएको छ। न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सुरु भएको यो महासभा आगामी सेप्टेम्बर २९ सम्म चल्नेछ।

‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नाराका साथ करिब २० दिनसम्म चल्ने यस महासभालाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरेका छन्।

अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय र जलवायु परिवर्तनजस्ता ज्वलन्त विषयमा गहन छलफल हुँदै विश्वव्यापी समस्या समाधानमा यस महासभाले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे। साथै दिगो विकासका रणनीति कार्यान्वयन, वातावरणीय दिगोपन, मानवअधिकार, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग तथा बहुपक्षीय हितका लागि राष्ट्रसंघको पुनर्संरचनाजस्ता विषयमा पनि महत्वपूर्ण छलफल हुने उनले बताए।

महासचिव गुटेरेसले विश्वले हाल विभिन्न किसिमका द्वन्द्व झेल्नुपरेको अवस्थामा उपयुक्त रणनीति र कार्यक्रमसहित तिनको सम्बोधनतर्फ राष्ट्रसंघको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे। जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिमजस्ता समस्याले सिंगो विश्व प्रभावित भएको उल्लेख गर्दै उनले आपसी सहयोग, संवाद र सहकार्यमार्फत यी समस्या समाधान गर्न महासभा उपयुक्त मञ्च रहेको बताए।

महासभा सुरु भएसँगै न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा ८१औं महासभाबाट रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको उल्लेख छ। संवाद र सामूहिक प्रयासमार्फत विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका क्षेत्रमा काम गर्ने इच्छा नियोगले जनाएको छ। साथै महासभाको अध्यक्ष पदभार सम्हालेका बंगलादेशी कूटनीतिज्ञ रहमानलाई नियोगले बधाई समेत दिएको छ।

यसैबीच मंगलबार राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी एकजुटता र प्रतिफलमुखी नतिजा हासिल गर्न विकासको गति तीव्र पार्न आग्रह गरेका छन्। अल्पविकसित मुलुकहरू समेटिएको अफ्रिकी राष्ट्रहरूको मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकमा कम विकसित देशहरूको समूहगत अध्यक्षको हैसियतले सम्बोधन गर्दै थापाले उत्पादन क्षमता अभिवृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनप्रति लचकता, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा तथा दिगो विकासका लागि प्रतिबद्धताअनुसार वित्तीय स्रोत परिचालन गर्न अपिल गरे।