कर्णाली राजमार्ग पुनः अवरुद्ध : भम्लु खोलामा सुख्खा पहिरो खस्दा यात्रुलाई सास्ती

काठमाडौँ, भदौ २४ । कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकखण्ड पुनः अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका १ स्थित भम्लु खोलामा गए राति सुख्खा पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार यसअघि कालीकोटको खाँडाचक्र नगरपालिकास्थित पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिरो पन्छाएर मङ्गलबार दिउँसो मात्रै सडक सुचारु गरिएको थियो । भदौ २० गतेदेखि बन्द रहेको सडक केही घण्टा सञ्चालनमा आएलगत्तै पुनः पहिरो खसेपछि यात्रुहरू मारमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारीअनुसार आज बिहानैदेखि प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट खटिएको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ। सडक डिभिजन कार्यालय सुर्खेतसँगको आवश्यक समन्वयमा पहिरो पन्छाउने कार्य सुरु भइसकेको र जतिसक्दो चाँडो आवागमन सुचारु गरिने प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि जुम्ला, कालीकोट, मुगु र हुम्लाबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौँतर्फ जाँदै गरेका र ती स्थानबाट कर्णालीका पहाडी जिल्ला भित्रिँदै गरेका सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। लगातारको अवरोधले गर्दा अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या देखिएको छ ।