तिलौराकोट संरक्षणका लागि किल्ला वरपरको थप जग्गा अधिग्रहण गर्दै पुरातत्व विभाग
कपिलवस्तु, २५ भदौ । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला वरपरको थप जग्गा अधिग्रहण गरिने भएको छ। तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत आधार तयार पार्ने क्रममा पुरातत्व विभागले यो प्रक्रिया अघि बढाएको हो।
विभागका अनुसार किल्ला परिसरबाहिर गरिएको उत्खनन तथा भू-भौतिक सर्वेक्षणबाट प्राचीन संरचनाका भग्नावशेष तथा अन्य पुरातात्विक अवशेष फेला परेका छन्। ती संरचनाको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि सोही क्षेत्रको जग्गा आवश्यक परेको हो।
विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार साविक मालपारा–१ख र मालपारा–४क अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा अधिग्रहण गरिनेछ। पुरातात्विक महत्वका संरचना तथा वस्तु भेटिएको क्षेत्रलाई संरक्षणको दायरामा ल्याउनकै लागि जग्गा अधिग्रहण गर्न लागिएको उनले बताए।
जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम विभागले सम्बन्धित जग्गाधनी, भू-स्वामी तथा सरोकारवालालाई सूचना जारी गरी अधिग्रहण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।
भगवान गौतम बुद्धले राजकुमार सिद्धार्थका रूपमा जीवनका २९ वर्ष बिताएको स्थलका रूपमा तिलौराकोट परिचित छ। त्यहाँ भएको उत्खनन तथा भू-भौतिक सर्वेक्षणबाट किल्ला परिसरबाहिर समेत प्राचीन संरचनाका प्रमाण भेटिएपछि संरक्षणको दायरा विस्तार गर्न लागिएको हो।
अधिकृत खनालका अनुसार थप जग्गा अधिग्रहणपछि पुरातात्विक संरचनाको विस्तृत अध्ययन, अनुसन्धान र संरक्षणसँगै क्षेत्रको व्यवस्थित व्यवस्थापनमा समेत सहयोग पुग्नेछ। तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत पुरातात्विक महत्वका क्षेत्रको संरक्षण र अनुसन्धानलाई नै प्राथमिकतामा राखिएको विभागले जनाएको छ।