संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

संखुवासभा, २५ भदौ । संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैंची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। पाँचखपन–८ पोख्राङस्थित अलैंची भट्टीमा अलैंची केलाउने क्रममा हावाहुरीसहितको वर्षामा चट्याङ लागी गम्भीर घाइते भएका दाहाललाई पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

यसैगरी सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल पनि चट्याङका कारण गम्भीर घाइते भएको प्रहरी निरीक्षक राजवंशीले बताए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

गम्भीर घाइते कट्वाल र दाहालको हाल पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटर पूर्वमा रहेको जनाइएको छ।