धादिङको सोप्याङखोलामा पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध, वैकल्पिक मार्गमा सवारीको चाप

काठमाडौं, २५ भदौ । धादिङको थाक्रे गाउँपालिका–७ सोप्याङखोलामा पहिरो खसेपछि काठमाडौं–हेटौंडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ।

धादिङ प्रहरीका अनुसार गएराति ९ बजे सोप्याङखोलामा पहिरो खसेको हो। निरन्तर परिरहेको झरीका कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। बिहीबार बिहानैदेखि चार वटा उपकरण परिचालन गरी सडक खुलाउने काम भइरहेको छ।

यसैबीच कृष्णभिरमा बाढीले सडक भासिएपछि पृथ्वीराजमार्ग पनि अवरुद्ध बनेको छ। परिणामस्वरूप काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरूले हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्, जसका कारण हेटौंडा–काठमाडौं जोड्ने तीनवटै वैकल्पिक रुटमा सवारीसाधनको ठूलो चाप देखिएको छ।