विपक्षी दलहरूको बैठक सुरु, भोटेकोशी बाढी र जनजीविकाका विषयमा छलफल

काठमाडौं, २५ भदौ । प्रतिनिधिसभाका विपक्षी दलहरूको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकै आह्वानमा संसद् बैठकअघि विपक्षी दलहरू छलफलमा जुटेका हुन्। संसद्को बैठक भने दिउँसो १ बजेदेखि बस्दैछ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार बैठक भोटेकोशी बाढीपछिको राहत, उद्धार, अस्थायी आवास र पुनर्निर्माण तथा जलवायु न्यायजस्ता विषयमा केन्द्रित रहेको छ।

उनका अनुसार भोटेकोशी बाढीसम्बन्धी राष्ट्रिय तथा कूटनीतिक पहलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजो संसद्मा प्रस्ताव गरेको विशेष सर्वदलीय संसदीय समिति निर्माणको विषयमा पनि यस बैठकमा छलफल हुनेछ।

यसैगरी बैठकले बढ्दो महँगी, ग्यासको अभाव तथा अन्य जनजीविकासँग जोडिएका सवालमा समेत महत्वपूर्ण निर्णय लिने दुलालको भनाइ छ।