लगातार दोस्रो दिन घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं, २५ भदौ । बिहीबार नेप्से परिसूचक लगातार दोस्रो दिन घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार पनि घटेर बन्द भएको नेप्सेले आज सोही प्रवृत्ति निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक १३.८५ अंकले घटी २५३१.५५ विन्दुमा झरेको छ। यसैगरी सेन्सेटिभ इण्डेक्स २.४० अंक, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंकले घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि खुम्चिएको छ। बुधबार रु. ४ अर्ब १९ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३४१ कम्पनीको ४४,१९८ पटक कारोबारबाट १ करोड ५ लाख ८८ हजार कित्ता शेयर, अर्थात् रु. ४ अर्ब ९ लाख ७१ हजार बराबरको खरिदबिक्री भएको छ।

आजको कारोबारमा लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किटमा गई रु. ३२.१०ले बढेर रु. २४६.१० मा अन्तिम कारोबार भएको छ। दोल्ती पावर कम्पनीको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले र अप्पर लोहोरे खोला हाइड्रोपावरको ७ प्रतिशतले बढेको छ। यता कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य भने सबैभन्दा बढी १४.९८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्षस्थानमा रह्यो, जसको रु. ४५ करोड ४८ लाख ८८ हजार बराबरको शेयर कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज पनि सबै १३ उपसमूहको परिसूचक घटेको छ, जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी १.१४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक पनि करिब १ प्रतिशतले खुम्चिएको छ।