स्वनिगः क्याम्पस हुँदै विश्वविद्यालय स्थापनाको तयारीमा काठमाडौं महानगर

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्वनिगः क्याम्पस’ सञ्चालन गर्दै भविष्यमा स्वनिगः विश्वविद्यालय स्थापना गर्ने लक्ष्यसहित अध्ययन प्रक्रिया अघि बढाएको छ। यसका लागि महानगरपालिकाले वागमती र लुम्बिनी विश्वविद्यालयसँग सहकार्यसम्बन्धी सम्झौता गरेको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले वागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. माणिकरत्न शाक्यसँग क्याम्पस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि सम्झौता गर्नुभएको हो।

सम्झौताअनुसार क्याम्पस सञ्चालनका लागि उपयुक्त स्थान, लागत, शैक्षिक कार्यक्रम, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, संस्थागत संरचना तथा सहकार्यको प्रारूपलगायत विषयमा अध्ययन गरिनेछ। साथै पाठ्यक्रम, विद्यार्थी भर्ना, कोटा, परीक्षा, क्रेडिट, अनुसन्धान केन्द्र, गुणस्तर सुनिश्चितता तथा उपाधिसम्बन्धी प्राज्ञिक जिम्मेवारीबारे समेत अध्ययन गरी सुझाव दिइनेछ।

महानगरपालिकाले तीन दिनभित्र दुवै विश्वविद्यालय र महानगरपालिकाका प्रतिनिधि सम्मिलित अध्ययन समिति गठन गर्ने जनाएको छ।

सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले काठमाडौं उपत्यकाको सहरी विकास, रैथाने ज्ञान, सीप र स्थानीय समस्यामा आधारित अध्ययन तथा अध्यापन गराउने उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार महानगरपालिकाले स्थानीय आवश्यकता र परिवेशअनुकूल ‘कस्टमाइज्ड कोर्ष’ विकास गर्न चाहेको छ।

वागमती विश्वविद्यालयसँगको सहकार्यमा कानुन, वातावरण, इन्जिनियरिङलगायत विषयमा उच्च शिक्षा, अनुसन्धान तथा प्रशिक्षण सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ। त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा बौद्ध अध्ययन, पुरातत्व, संग्रहालयशास्त्र, बौद्ध कला तथा वास्तुकला, सम्पदा संरक्षण र दिगो विकाससम्बन्धी कार्यक्रमबारे अध्ययन गरिनेछ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति शाक्यले काठमाडौं बौद्ध अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न उपयुक्त स्थान रहेको बताउनुभयो। वागमती विश्वविद्यालयका अध्यक्ष पौडेलले भाषा, कला, संस्कृति, परम्परागत वास्तुकला र नेपालको पहिचानसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनमा सहकार्य महत्वपूर्ण हुने बताउनुभयो।

महानगरपालिकाले स्वनिगः क्याम्पसलाई काठमाडौंका मौलिक भाषा, संस्कृति, सम्पदा र स्थानीय ज्ञानलाई उच्च शिक्षासँग जोड्ने तथा अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गर्ने आधारका रूपमा अघि बढाउन लागेको जनाएको छ।