इरान युद्धले अमेरिकी सैन्य क्षमतामा दबाब : मिसाइल भण्डारमा कमी, मध्यपूर्वका सयौँ संरचना क्षतिग्रस्त
काठमाडौं । इरानसँगको युद्धले अमेरिकी सैन्य पूर्वाधार, हतियार भण्डार र मध्यपूर्वमा अमेरिकी सेनाको सञ्चालन क्षमतामा ठूलो दबाब सिर्जना गरेको पेन्टागनको नयाँ प्रतिवेदनले देखाएको छ।
अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षक (Inspector General) ले सार्वजनिक गरेको विशेष प्रतिवेदनले युद्ध सुरु भएको फेब्रुअरी २८ देखि जुन ३०, २०२६ सम्म इरानी आक्रमणबाट अमेरिकी सैन्य संरचना र उपकरणमा भएको क्षतिको पहिलो औपचारिक विवरण प्रस्तुत गरेको हो।
प्रतिवेदनअनुसार इरानी आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य आधारका सयौँ भवन तथा संरचना क्षतिग्रस्त वा ध्वस्त भएका छन्। यसअघि बीबीसीको भू–उपग्रह तस्बिरमा आधारित विश्लेषणले पनि यी आठ देशमा रहेका कम्तीमा २० अमेरिकी सैन्य स्थलमा क्षति पुगेको देखाएको थियो।
मिसाइल तथा हतियार भण्डारमा दबाब
प्रतिवेदनले युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने केही महत्वपूर्ण अत्याधुनिक हतियार तथा मिसाइलको भण्डारमा उल्लेखनीय कमी आएको स्वीकार गरेको छ।
विशेषगरी इरानी ड्रोन तथा ब्यालिस्टिक मिसाइलविरुद्ध अमेरिकी सेनाले ठूलो मात्रामा प्रतिरक्षा मिसाइल प्रयोग गरेपछि हतियारको भण्डारमा दबाब परेको हो। यसले लामो समयसम्म यस्तै स्तरको सैन्य अभियान सञ्चालन गर्न अमेरिकाको क्षमतामाथि प्रश्न उठाएको छ। एसोसिएटेड प्रेस (AP) ले पनि पेन्टागनको प्रतिवेदनले अमेरिकी सेनाको advanced weapons shortfalls लाई पहिलोपटक सार्वजनिक रूपमा औंल्याएको जनाएको छ।
बहराइनको अमेरिकी नौसैनिक केन्द्रमा ठूलो क्षति
इरानी आक्रमणबाट सबैभन्दा महत्वपूर्ण क्षति पुगेका अमेरिकी सैन्य पूर्वाधारमध्ये बहराइनस्थित Naval Support Activity Bahrain पनि एक हो। यो अमेरिकी पाँचौँ बेडा (US Fifth Fleet) तथा क्षेत्रीय नौसैनिक सञ्चालनका लागि महत्वपूर्ण केन्द्र मानिन्छ।
अल जजिराका अनुसार अमेरिकी नौसेनाका कार्यवाहक सचिव हङ काओले बहराइनस्थित अमेरिकी नौसैनिक आधारमा भएको क्षतिलाई अत्यन्त गम्भीर बताएका छन्। भू–उपग्रह तस्बिर र अन्य प्रमाणको विश्लेषणले पनि आधारका कमाण्ड सेन्टरसहित कम्तीमा एक दर्जन भवनमा ठूलो क्षति पुगेको देखाएको छ।
पेन्टागनको प्रतिवेदनअनुसार बहराइनको मुख्य नौसैनिक पूर्वाधारमा क्षति पुगेपछि पर्याप्त नौसैनिक आधार तथा सहयोगी बन्दरगाहको व्यवस्था गर्न अमेरिकी सेनालाई ठूलो चुनौती उत्पन्न भयो।
यसको असर अमेरिकी सैन्य आपूर्ति प्रणालीमा समेत परेको छ। परिणामस्वरूप हिन्द महासागरमा रहेको डिएगो गार्सियालाई महत्वपूर्ण समुद्री रसद केन्द्रका रूपमा प्रयोग गर्नुपरेको र केही आपूर्ति चक्र १४ देखि १८ दिनसम्म लम्बिएको प्रतिवेदनमा उल्लेख छ।
सैनिकको उद्धार प्रणालीसमेत प्रभावित
इरानी आक्रमणको जोखिम बढेपछि अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले आफ्ना सैनिक, उपकरण र भण्डारण केन्द्रहरू विभिन्न स्थानमा सार्नुपरेको थियो।
इराक र कुवेतबाट अमेरिकी सेनाका केही मेडिकल इभ्याकुएसन हेलिकप्टर हटाइएपछि घाइते तथा बिरामी सैनिकको उद्धारका लागि हवाई सेवाको सट्टा धेरैजसो अवस्थामा स्थलमार्ग प्रयोग गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ।
यसले युद्धका क्रममा अमेरिकी सैनिकको स्वास्थ्य तथा आपत्कालीन उद्धार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको देखिन्छ।
जोर्डनस्थित अमेरिकी हवाई आधारमा पनि क्षति
जोर्डनको Muwaffaq Salti Air Base (Al-Azraq) पनि इरानी आक्रमणको निशानामा परेको थियो।
अल जजिराका अनुसार उक्त आधारमा अमेरिकी F-35, F-16 र F-15 लडाकु विमानका लागि प्रयोग हुने संरचनालाई लक्षित गरी मिसाइल आक्रमण गरिएको थियो। केही अमेरिकी विमानमा क्षति पुगेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
बीबीसीको विश्लेषणले पनि साउदी अरब, यूएई, कुवेत, इराक, कतार, बहराइन, जोर्डन र ओमानमा रहेका अमेरिकी सैन्य संरचनामा इरानी आक्रमणबाट क्षति पुगेको देखाएको थियो।
अमेरिकी कूटनीतिक संरचनामा १८४ मिलियन डलरको क्षति
पेन्टागनको महानिरीक्षकको प्रतिवेदनमा अमेरिकी सैन्य संरचनासँगै मध्यपूर्वमा रहेका कूटनीतिक तथा सरकारी संरचनामा भएको क्षतिको विवरण पनि समेटिएको छ।
प्रतिवेदनअनुसार इरानी आक्रमणबाट अमेरिकी कूटनीतिक संरचनामा मात्रै करिब १८४ मिलियन डलर बराबरको क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा ठूलो क्षति इराकमा भएको थियो, जहाँ अमेरिकी कूटनीतिक संरचनामा करिब १५७ मिलियन डलर बराबरको क्षति भएको उल्लेख छ।
मार्चको सुरुवातमा साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा दुई इरानी ड्रोनले आक्रमण गरेका थिए। त्यसबाट दूतावास परिसरमा ठूलो क्षति पुगेको र त्यहाँ रहेको अमेरिकी गुप्तचर निकाय CIA को स्टेशनसमेत प्रभावित भएको रिपोर्टमा उल्लेख छ।
त्यसैगरी दुबईस्थित अमेरिकी वाणिज्य दूतावास नजिक ड्रोन आक्रमणबाट एउटा उपयोगिता भवन क्षतिग्रस्त भएको थियो।
कुवेतस्थित अमेरिकी दूतावास पनि इरानी ड्रोन आक्रमणपछि मार्चमा पूर्ण रूपमा बन्द गरिएको थियो। जुनको अन्त्यतिर भने अमेरिकी नागरिकका लागि आपत्कालीन सेवा पुनः सञ्चालन गरिएको थियो।
इराकमा ६०० भन्दा बढी आक्रमण
अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार इराकमा रहेका अमेरिकी संरचनामाथि ६०० भन्दा बढी आक्रमण भएका थिए।
यी आक्रमणबाट करिब १५७ मिलियन डलर बराबरको क्षति भएको जनाइएको छ। इराकमा रहेका अमेरिकी कूटनीतिक तथा अन्य संरचनामा भएको क्षति मध्यपूर्वमा अमेरिकी कूटनीतिक पूर्वाधारमा भएको कुल क्षतिको ठूलो हिस्सा हो।
हजारौँ अमेरिकी कूटनीतिक कर्मचारी क्षेत्रबाट बाहिरिए
युद्धको सुरुवाती महिनामा मध्यपूर्वमा रहेका अमेरिकी कूटनीतिक कर्मचारीको ठूलो संख्या पनि प्रभावित भयो।
प्रतिवेदनअनुसार फेब्रुअरी २३ देखि जुन ३० सम्म करिब ३,५०० अमेरिकी कूटनीतिक कर्मचारी क्षेत्रबाट बाहिर रहेका थिए। बहराइन, इराक, जोर्डन, कतार, साउदी अरब र यूएईमा रहेका अमेरिकी कूटनीतिक नियोगमा गैर–आपत्कालीन कर्मचारी तथा उनीहरूका परिवारलाई क्षेत्र छाड्न आदेश दिइएको थियो।
केही स्थानमा कर्मचारीलाई स्वेच्छिक रूपमा बाहिरिन अनुमति दिइएको थियो भने अधिकांश अमेरिकी कूटनीतिक नियोग अझै पनि ‘restricted operations’ अन्तर्गत सञ्चालनमा छन्। केही कूटनीतिज्ञ तथा उनीहरूका परिवार भने क्रमशः मध्यपूर्व फर्किन थालेका छन्।
युद्धपछि पनि अमेरिकी सैन्य उपस्थिति घट्न सक्ने संकेत
पेन्टागनको प्रतिवेदनले तत्कालको क्षति र सैन्य सञ्चालनको कठिनाइ मात्र देखाएको छैन, यसले मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थितिको भविष्यबारे पनि नयाँ प्रश्न उठाएको छ।
युद्धका क्रममा अमेरिकी आधारहरू बारम्बार निशानामा परेपछि अमेरिकी सैन्य तथा गुप्तचर अधिकारीहरूले युद्ध समाप्त भएपछि पनि मध्यपूर्वमा रहेका केही अमेरिकी सैनिक तथा सैन्य संरचना स्थायी रूपमा घटाउने सम्भावनाबारे छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसरी हेर्दा इरान युद्धले अमेरिकी सेनालाई ठूलो आर्थिक र सैन्य क्षति पुर्याउनुका साथै मध्यपूर्वमा दशकौँदेखि कायम रहेको अमेरिकी सैन्य संरचना र रणनीतिमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको देखिन्छ।
