बाढी प्रभावित क्षेत्रमा १२ झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौँ,  भदौ ३० । बाढीका कारण क्षतिग्रस्त भएका विभिन्न क्षेत्रका १२ वटा झोलुङ्गे पुलको मर्मत कार्य सरकारले सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार क्षतिग्रस्त पुलहरूको मर्मत गरी असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको हो ।

मन्त्रालयका अनुसार धादिङका कालिकास्थान, मालिङ्गा, मझुवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतलबजार–क्युरेनीटार र बेल्खु-भुतिया क्षेत्रमा रहेका झोलुङ्गे पुलको मर्मत सुरु भइसकेको छ ।

त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी -गहते, पिमलटार-जागाराम, कोतपु-कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ।

बाढीबाट प्रभावित थप आठ वटा झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीसमेत भइरहेको छ । मर्मतका क्रममा आवश्यक पर्ने ‘डेक’ लगायतका सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको र पहिलो चरणका सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको मन्त्रालयले जनाएको छ । दोस्रो चरणअन्तर्गत आवश्यक स्टिल पार्ट्स खरिदको प्रक्रिया पनि अघि बढाइएको छ ।

यसैबीच, उक्त करिडोरमा बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएका ३३ वटा झोलुङ्गे पुलको पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान गरिएको छ। पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बाढीबाट प्रभावित पुलहरूको मर्मत तथा पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ । क्षतिग्रस्त पुल सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका स्थानीयवासीको आवतजावत तथा दैनिक जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *