खोटाङमा बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
खोटाङ, ३० भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। खार्मीको निङ्गालेस्थित महभीरका ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका ५२ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो।
भलबहादुरका अनुसार मकैबारीमा आएको बाँदरलाई घेरा हालेर धपाउने क्रममा आज (मङ्गलबार) दिउँसो करिब २ बजे आफूले प्रहार गरेको भरुवा बन्दुकको गोली श्यामबहादुरको टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
“मकैबारी दैनिकजसो बाँदर आउने गथ्र्यो। साथी (श्यामबहादुर) र म धपाउन गएका थियौँ,” भलबहादुरले भने, “वल्लो डाँडा र पल्लो डाँडाबाट छेकारो काटेर धपाउने क्रममा मैले बाँदरलाई ताकेर भरुवा बन्दुक प्रहार गरेको थिएँ। त्यहीबेला साथी आइपुगेछ। बाँदरको ठाउँमा साथीको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भयो।”
बाँदरलाई हानेको भरुवा बन्दुकको गोली साथीलाई लागेर मृत्यु भएपछि आफैँले प्रहरीलाई फोन गरी जानकारी गराएको भलबहादुरले बताए। उनले दिएको जानकारीको आधारमा प्रहरी चौकी खार्मीको टोली घटनास्थलमा पुगी सुरक्षित गरेको जनाइएको छ।
वडा सदस्य वीरेन्द्र राईका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी सर्जमिन गरेपछि मृतकको शव तथा बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने तयारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार खार्मीमा भएको घटनाको जानकारी पाउनासाथ अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षक निराजन बस्नेतको टोली परिचालन गरिएको छ।
