चालु आवको पहिलो दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौँ, १ असोज । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब रु दुई खर्ब बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च रु एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख बराबर छ, जुन वार्षिक लक्ष्यको ९.४१ प्रतिशत हुन आउँछ।

कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म ९.०६ प्रतिशत बजेट खर्च गरेको छ। यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा रु एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख खर्च भएको छ।

पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको मात्र १.७८ प्रतिशत अर्थात् रु सात अर्ब ६६ करोड ४८ लाख खर्च भएको कार्यालयको तथ्याङ्कले देखाउँछ। वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च १६.५९ प्रतिशत रहेको छ। यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख विनियोजन भएकोमा भदौ मसान्तसम्ममा रु ७० अर्ब १३ करोड ७० लाख बराबर खर्च भएको हो।

यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आम्दानी कम रहेको छ। भदौ मसान्तसम्मको कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ११.५८ प्रतिशत अर्थात् रु एक खर्ब ९० अर्ब १० करोड ७९ लाख छ। पछिल्ला दुई महिनामा मात्रै सरकारको आम्दानीभन्दा खर्च करिब रु नौ अर्ब ७२ करोडले बढी रहेको छ।

कर राजस्वतर्फ चालु आर्थिक वर्षका लागि कुल रु १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२.२९ प्रतिशत अर्थात् रु एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख सङ्कलन भएको छ। त्यस्तै, गैरकर राजस्वतर्फ रु एक खर्ब ७७ अर्ब उठाउने लक्ष्य रहेकोमा हालसम्म ६.९ प्रतिशत अर्थात् रु १० अर्ब ७७ करोड ६९ लाख उठेको छ।

चालु आर्थिक वर्षका लागि रु ६१ अर्ब ७४ करोड ५४ लाख प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा ८.९६ प्रतिशत अर्थात् रु पाँच अर्ब ५३ करोड बराबर भित्रिएको कार्यालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *